काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देशका प्रमुख विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँग सामूहिक छलफल गरेका छन् ।

सोमबार सिंहदरबारमा आयोजित बैठकमा ११ विश्वविद्यालय र सात स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू सहभागी थिए । कुलपतिको हैसियतले प्रधानमन्त्री शाह स्वयंले बैठकको अध्यक्षता गरेका थिए ।

advertisement

बैठकमा स्वास्थ्य विज्ञान क्षेत्रतर्फ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरू उपस्थित थिए ।

त्यसैगरी विश्वविद्यालयतर्फ त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिहरू सहभागी थिए ।

यसबाहेक कृषि तथा वन विज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरू पनि बैठकमा उपस्थित थिए ।

बैठकमा विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले भोगिरहेका समसामयिक समस्या, शैक्षिक गुणस्तर सुधार, पूर्वाधार विकास, अनुसन्धान तथा तत्काल समाधान गर्न सकिने विषयहरूमा विस्तृत छलफल भएको छ । प्रधानमन्त्री शाहको सचिवालयले केही समस्या तत्कालै सम्बोधन गर्न सकिने बताएको छ ।

यो छलफललाई उच्च शिक्षाको गुणस्तर सुधार र शैक्षिक क्षेत्रमा देखिएका चुनौतीहरू समाधान गर्ने दिशामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । बैठकमा उपकुलपतिहरूले आफ्ना संस्थाका समस्या र आवश्यकताहरूबारे प्रधानमन्त्री समक्ष राखेका थिए ।

अहिलेसम्म बैठकमा भएका छलफलका अन्य विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com