काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा आएको हारको चिन्ता गर्नुभन्दा अब चिन्तन गर्नुपर्ने बेला आएको बताएका छन् ।
मकवानपुरको हेटौंडामा सोमबार आयोजित निर्वाचन समीक्षा बैठकलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, “अहिले कांग्रेससँग दुईवटा विकल्प छन् – चिन्ता गर्ने वा चिन्तन गर्ने ।
चिन्ताले मात्र समस्या देखाउँछ र अरूलाई दोष दिन सिकाउँछ, तर चिन्तनले समाधान खोज्न प्रेरित गर्छ ।
कांग्रेसलाई अहिले चिन्तनको खाँचो छ ।”
उनले फागुनको निर्वाचनको नतिजाले कांग्रेसलाई नयाँ अवसर र चुनौती दुवै दिएको उल्लेख गर्दै समीक्षाको अर्थ गल्ती मात्र खोज्नु नभई आगामी यात्रा तय गर्नु रहेको बताए ।
कांग्रेस देश सम्हाल्ने मुख्य पार्टी भएकाले हार वा जितबाट बिचलित हुन नहुने उनको भनाइ छ ।
थापाले भने, “कहिलेकाहीँ देश जित्नका लागि पार्टीले हार व्यहोर्नुपर्ने अवस्था आउँछ ।
हामी हारे पनि देशले जित्यो । लोकतन्त्र सही ट्र्याकमा फर्किएको छ ।”
उनले राज्यमा विधिको शासन कायम गर्न जोड दिँदै प्रधानमन्त्रीदेखि कांग्रेस सभापतिसम्म जोसुकै भए पनि सम्पत्ति छानबिन गर्नुपर्ने बताए ।
“२०४८ सालयता सार्वजनिक ओहोदामा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्छ ।
दोषी देखिएका व्यक्तिको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ,” उनले भने ।
थापाले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही भएको भन्दै २४ गतेको घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने माग गरे ।
उनले राज्यले गरेको अनुसन्धानमा कांग्रेसले विरोध नगर्ने तर विधिको शासन सबैतिर लागू हुनुपर्नेमा जोड दिए ।
महामन्त्री थापाले पार्टीका क्रियाशील सदस्यहरूलाई सम्बोधन गर्दै भने, “आम मतदाताले जसलाई पनि भोट हाल्न सक्छन्, तर कांग्रेसको क्रियाशील सदस्य भएपछि विधान मान्नुपर्छ ।
कांग्रेसको सदस्य रहने हो भने रुख चिन्हमा नै मतदान गर्नुपर्छ ।
अर्को पार्टीमा भोट हाल्न पाइँदैन ।”
उनले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्नुपर्ने, नयाँ पुस्ता र छुटेका समर्थकहरूलाई समेट्नुपर्ने तथा विशेष महाधिवेशनको बहसलाई अन्त्य गर्दै १५औँ महाधिवेशनको तयारीमा जुट्नुपर्ने बताए ।
थापाले कांग्रेसलाई २००७ सालको जस्तै क्रान्तिकारी, २०४६ सालको जस्तै लोकप्रिय र २०७० सालको जस्तै भरोसायोग्य बनाउन इतिहासबाट पाठ सिक्नुपर्नेमा जोड दिएका छन् ।
यो बैठकमा बागमती प्रदेश कार्यसमितिको व्यवस्थापनमा कांग्रेस केन्द्रीय समितिले निर्वाचन समीक्षा गरेको थियो ।
प्रकाशित मिति: ७ बैशाख २०८३, सोमबार













प्रतिक्रिया