काठमाडौं। नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधन (ईभी) को लोकप्रियता बढ्दो भए पनि चालू आर्थिक वर्षमा यसको आयातमा गिरावट देखिएको छ भने पेट्रोलबाट चल्ने गाडीको माग उल्लेख्य रूपमा बढेको छ।
भन्सार विभाग का अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा विद्युतीय कारको आयात करिब १० प्रतिशतले घटेको छ।
गत वर्षको सोही अवधिमा ७ हजार ९६७ युनिट ईभी आयात भएकोमा यस वर्ष घटेर ७ हजार १७३ युनिटमा सीमित भएको हो।
यस अवधिमा करिब १६ अर्ब ६६ करोड रुपैयाँ बराबरका ईभी नेपाल भित्रिएका छन्, जसबाट सरकारले १० अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
क्षमताका आधारमा हेर्दा ५१ देखि १०० किलोवाटका ईभी सबैभन्दा बढी ४ हजार ८३ युनिट आयात भएका छन्।
त्यस्तै, ५० किलोवाटसम्मका २ हजार ५०६ युनिट, १०१ देखि २०० किलोवाटका ५७४ युनिट र २०१ किलोवाटभन्दा माथिका ८ युनिट गाडी आयात भएका छन्।
यता, पेट्रोलियम पदार्थबाट चल्ने कारको आयातमा भने उल्लेख्य वृद्धि भएको छ। नौ महिनामा ४ हजार १४० युनिट पेट्रोल कार आयात भएका छन्, जुन गत वर्षको २ हजार ७४२ युनिटको तुलनामा ५०.९९ प्रतिशतले बढी हो।
विश्लेषकहरूका अनुसार बजारमा इन्धनबाट चल्ने गाडीको माग अचानक बढ्नुले आयातमा यस्तो उछाल आएको हो।
यसले एकातिर इन्धन खपत बढाउने र अर्कोतर्फ देशको व्यापार घाटा तथा ऊर्जा निर्भरता थप चुलिने जोखिम देखिएको छ।
विद्युतीय सवारीको प्रयोग बढाउने सरकारी नीति र लक्ष्यका बीच ईभी आयातमा आएको गिरावट तथा पेट्रोल गाडीको बढ्दो प्रयोगले दीर्घकालीन रूपमा अर्थतन्त्र र वातावरण दुवैमा चुनौती थप्ने संकेत देखिएको छ।
प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया