काठमाडौं। सरकारले नेपाल धितोपत्र बोर्ड को अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ।
मन्त्रिपरिषद् को आज बसेको बैठकले राष्ट्रिय योजना आयोग का उपाध्यक्ष डा. गुणाकर भट्ट को संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो।
समितिमा अर्थ मन्त्रालय का सचिव डा. धनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहेका छन्।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिना ले बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
त्यस्तै, बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य तथा सदस्यहरूमा नवराज सिम्खडा र रोशनबहादुर शाक्य लाई नियुक्त गर्ने निर्णय गरेको छ।
बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ संशोधन गर्न बनेको विधेयक, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७३ संशोधन विधेयक तथा मतदाता नामावली ऐन, २०७३ संशोधन विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ।
प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार












प्रतिक्रिया