काठमाडौँ । नेपाल र युएई बीचको दुई खेलको टी-२० अन्तर्राष्ट्रिय श्रृंखलाको दोस्रो खेलमा नेपाल ८ विकेटले विजयी भएको छ। यो जितसँगै श्रृंखला १-१ को बराबरीमा सकियो। पहिलो खेलमा युएईले नेपाललाई ६ विकेटले हराएको थियो। दोस्रो खेलमा भने नेपाल हावी भयो।

मंगलबार टियू मैदान कीर्तिपुरमा सम्पन्न खेलमा युएईले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको नेपालले उक्त लक्ष्य १५.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा ओपनर कुशल भुर्तेलले ८४ रनको अविजित इनिङ्स खेले। उनले ५७ बलमा १२ चौका र २ छक्का प्रहार गरेका थिए।

advertisement

त्यस्तै, कप्तान दिपेन्द्र सिंह ऐरीले १७ बलमा २३ रन बनाउँदा ३ चौका प्रहार गरेका थिए। यी दुईबाहेक ओपनर कुशल मल्लले १९ रन बनाए।

युएईका लागि निलन्स केशवानी र मुहम्मद अर्फानले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ४८ रन जोड्दै ६ विकेट गुमाए पनि पछिल्लो क्रमका ब्याटरहरु सम्हालिँदा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रनको मध्यम स्कोर बनाउन सफल भएको थियो।

एक समय युएईले ७.५ ‌ओभरमा ४८ रन जोड्दा आफ्ना ६ ब्याटर गुमाएको थियो। उसका शीर्ष क्रममा रहेका दुई खेलाडीबाहेक लगातार विकेट पतन भए पनि पाँचौं नम्बरका अक्षदीपले ५३ रनको अर्धशतकीय अविजित इनिङ्स खेलेका थिए। उनलाई पछिल्लो क्रममा ब्याटिङका लागि आएका मुहमम्द अर्फानले ३२ रन बनाएर सहयोग गरे। उनी आउट भएपछि भने पछिल्लो क्रममा भने गतिलो प्रदर्शन भएन। थप दोहोरो स्कोरका रुपमा उसका लागि अदिब उस्मानले ३० रन बनाए।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदा हेमन्त धामीले २ विकेट तथा नन्दन यादव र शाहव आलमले समान १-१ विकेट लिएका थिए।

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com