काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७७औँ स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण वामपन्थी तथा कम्युनिस्ट शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका छन्।
उनले वि.सं. २००६ साल वैशाख ९ गते स्थापना भएको कम्युनिस्ट पार्टीले सामन्ती निरङ्कुशताको अन्त्य गर्दै देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रतर्फ डोहोर्याउन ऐतिहासिक भूमिका खेलेको स्मरण गरेका छन्।
सन्देशमा उनले आजको समाजमा शोषण, दमन र विभेदका नयाँ स्वरूपहरू देखिएको उल्लेख गर्दै जनताको वास्तविक शासन व्यवस्था अझ पूर्ण रूपमा स्थापित हुन नसकेको बताएका छन्। समाजमा विभेद कायम रहँदासम्म कम्युनिस्ट आन्दोलनको औचित्य रहने उनको भनाइ छ।
प्रचण्डले वर्तमान विश्व परिवेशमा साम्राज्यवाद र फासिवादी प्रवृत्तिविरुद्ध संघर्ष गर्न महान् लेनिनका विचारहरू अझ सान्दर्भिक भएको उल्लेख गरेका छन्।
नेपाली क्रान्तिलाई नयाँ उचाइमा पुर्याउन र समतामूलक समाज निर्माण गर्न छरिएर रहेका वामपन्थी शक्तिहरूबीच एकता आवश्यक रहेको उनले जोड दिएका छन्। उत्पीडित समुदायको अधिकार र राष्ट्रिय स्वाधीनताको रक्षा कम्युनिस्ट आन्दोलनबाटै सम्भव हुने उल्लेख गर्दै उनले सम्पूर्ण वामपन्थी शक्तिलाई पुनर्गठनका लागि आह्वान गरेका छन्।
साथै, जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा, शान्ति सम्झौताको कार्यान्वयन र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि परिवर्तनकारी शक्तिहरूबीचको एकता अपरिहार्य रहेको उनको भनाइ छ।
प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार













प्रतिक्रिया