काठमाडाैं । काभ्रेको बेथानचोक गाउँपालिका–३ मा निर्माण सम्पन्न भएको बेथानचोक आधारभूत अस्पताल एक वर्षभन्दा बढी समय बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। ठेकेदारले भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसके पनि आवश्यक व्यवस्थापन नहुँदा अस्पताल अलपत्र अवस्थामा रहेको छ।
अस्पताल सञ्चालनमा नआउँदा स्थानीयवासी सामान्य उपचारका लागि समेत बनेपा पुग्न बाध्य भएका छन्। स्थानीय केशवबहादुर बस्नेतका अनुसार भवन तयार भएको लामो समय बितिसक्दा पनि अस्पताल सञ्चालनमा ल्याउनेतर्फ कुनै पहल भएको छैन।

उनले भने, भवन बनेर हस्तान्तरण भएको एक वर्षभन्दा बढी भयो, तर अहिलेसम्म सञ्चालनमा आएको छैन। सुरक्षा गार्डसम्म राखिएको छैन। सीसीटिभी जडान गरिएको छ तर प्रयोगमा छैन। झ्यालका सिसा फुटेका छन्। पालिकाले जिम्मा लिएर अलपत्र छाडेको छ।
बस्नेतले अस्पताल सञ्चालनमा आए स्थानीयलाई उपचारका लागि टाढा जानु नपर्ने उल्लेख गर्दै अस्पताल जाने बाटो पिच गर्ने बजेटसमेत बाढीपीडितमा वितरण गरिएको गुनासो गरे।

यता, बेथानचोक गाउँपालिका–२ का सूचना अधिकृत ज्ञानप्रसाद तिमल्सिनाले बजेट अभावका कारण अस्पताल सञ्चालनमा ल्याउन नसकिएको बताएका छन्। उनका अनुसार अस्पताल निर्माणका लागि करिब ९ करोड रुपैयाँमा ठेक्का लगाइएको थियो र ठेकेदारले आफ्नो काम पूरा गरिसकेको छ।

“आवश्यक संरचना निर्माण भइसकेको छ, ठेकेदारको कुनै दोष छैन, तिमल्सिनाले भने, “अब आवश्यक सामग्री व्यवस्थापन र जनशक्ति पूर्ति गर्ने जिम्मा पालिकाको हो। तर बजेट अभावका कारण काम अघि बढ्न सकेको छैन।
उनले अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति माग गर्दै स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पठाइएको जानकारी दिए। बाढीपहिरोका कारण बजेट प्रभावित भएको उल्लेख गर्दै अब कम्तीमा अस्पतालको संरक्षण गर्ने तयारी रहेको उनले बताए।

स्थानीय तहको समन्वय अभाव र स्रोतको कमीका कारण तयार भइसकेको पूर्वाधार उपयोगविहीन बन्दै जाँदा स्थानीयवासी निराश बनेका छन्।
प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार













प्रतिक्रिया