काठमाडौं। काठमाडौँ उपत्यकाका स्थानीय तह हरूले आगामी शैक्षिक सत्र २०८३ का लागि नयाँ कार्यतालिका सार्वजनिक गरेका छन्।

उपत्यका मेयर्स फोरम को निर्णयअनुसार विद्यार्थी भर्ना अभियान वैशाख ११ गतेदेखि र नियमित पठनपाठन वैशाख १५ गतेदेखि सुरु हुने भएको छ।

advertisement

फोरमले संघीय सरकारको पछिल्लो निर्देशनले शैक्षिक क्षेत्रमा अन्योलता सिर्जना गरेको निष्कर्ष निकाल्दै स्थानीय सरकारको अधिकार प्रयोग गरी आफ्नै क्यालेन्डर लागू गर्ने निर्णय गरेको हो।

फोरमका अध्यक्ष तथा ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन ले विज्ञप्ति जारी गर्दै उपत्यकाका सबै पालिकालाई सोही तालिका अनुसार कार्यान्वयन गर्न आग्रह गरेका छन्।

यसअघि सरकारले भर्ना वैशाख १५ र कक्षा सञ्चालन वैशाख २१ बाट सुरु गर्ने सूचना जारी गरेको थियो।

तर शिक्षा नियमावली, २०५९ मा शैक्षिक सत्र वैशाख १ बाट सुरु हुने स्पष्ट व्यवस्था रहेको र संविधानले शिक्षा अधिकार स्थानीय तहलाई दिएको भन्दै मेयर्स फोरमले फरक निर्णय लिएको हो।

फोरमले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार विद्यालय सञ्चालन, व्यवस्थापन र नियमन स्थानीय तहको अधिकारभित्र पर्ने भएकाले विद्यार्थीको पढाइ प्रभावित हुन नदिन यस्तो कदम आवश्यक भएको जनाएको छ।

त्यस्तै, सर्वोच्च अदालतको अन्तरिम आदेशलाई समेत ध्यानमा राख्दै शैक्षिक वातावरण एकरूप बनाउन प्रयास गरिएको फोरमले बताएको छ।

विभिन्न शिक्षक संगठन, अभिभावक संघ र विद्यालय संघहरूबाट प्राप्त सुझावका आधारमा कक्षा छिटो सुरु गर्नु आवश्यक देखिएको उल्लेख गरिएको छ।

यससँगै मेयर्स फोरमले पछिल्लो इन्धन संकटप्रति पनि चिन्ता व्यक्त गर्दै विद्यालयहरूलाई विद्युतीय सवारी प्रयोग बढाउन र आवश्यक परे अनलाइन कक्षा जस्ता वैकल्पिक व्यवस्था तयार गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com