काठमाडौं। नेकपा एमाले का सचिव महेश बस्नेत ले वर्तमान सरकार जनताको मन र सत्ताबाट छिट्टै बाहिरिने दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारप्रति कडा आलोचना गर्दै सुकुम्बासी बस्ती खाली गराउने निर्णयलाई लिएर असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले भनेका छन्– ‘सुरक्षा प्रमुखलाई बोलाएर प्रधानमन्त्री बालेन्द्र शाहले “शनिबार–आइतबारभित्र अतिक्रमित सुकुम्वासी बस्ती खाली गर” भन्दै उर्दी जारी गरेछन्।
यो निर्णयले सरकारको असली चरित्र नाङ्गो बनाएको छ।
उनकै दलका सभापति रवि लामिछानेले “सुकुम्वासी बस्तीमा डोजर आयो भने म छाती थाप्छु” भनेर ठुलो भाषण दिनुहुन्थ्यो।
आज त्यो प्रतिबद्धता कहाँ गयो ? जनतालाई भ्रममा राख्ने भाषण मात्रै हो त ?’
बस्नेतले सरकारको कदमले वास्तविक चरित्र उजागर भएको आरोप लगाउँदै सुकुम्बासी व्यवस्थापनभन्दा हटाउने नीति अपनाइएको बताए।
उनले गरिबी न्यूनीकरणको नाममा गरिबमाथि नै दबाब सिर्जना गरिएको भन्दै प्रश्न उठाए।
त्यस्तै, उनले साना व्यवसायीमाथि डोजर चलाउने, भन्सारमा कडाइ गर्ने तथा विभिन्न संगठनमाथि प्रतिबन्ध लगाउने जस्ता कदमले सरकार अधिनायकवादी दिशातर्फ उन्मुख भएको दाबी गरे।
उनले प्रश्न गरेका छन्– ‘सुकुम्बासीलाई लखेट्ने हो कि व्यवस्थित गर्ने ?
गरिबी हटाउने हो कि गरिबलाई नै समाप्त पार्ने ?
सडक चौडा र फुटपाथ सफा गर्ने नाममा साना व्यवसायी र स्थानीयको घरमाथि डोजर चलाउने, भन्सारमा १०० रुपैयाँभन्दा बढीका सामानमा कडाइ गरेर गरिबको दाल–चामल खोस्ने?
यो तिम्रो प्रगति होइन, सीधा गरिबमाथिको हमला हो।
विद्यार्थी र कर्मचारी संगठन खारेज गर्ने जस्ता कदमले स्पष्ट देखाइसकेको छ।
यो सरकार लोकतान्त्रिक संस्कार तर्फ होइन, अधिनायकवादतर्फ उन्मुख सत्ता हो।
यस्तो जनविरोधी र गरिबमारा शासनलाई जनता चुप लागेर हेर्ने छैनन्।’
बस्नेतले यस्तो जनविरोधी शासनलाई जनता चुप लागेर नहेर्ने चेतावनी दिँदै सरकारको समय अब धेरै नरहेको टिप्पणी गरेका छन्।
प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार













प्रतिक्रिया