काठमाडौं । सङ्घीय संसद्का सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले संविधान संशोधनका लागि आफ्नो पार्टीतर्फबाट ९ बुँदे प्रस्ताव सार्वजनिक गरेका छन्।

बिहीबार सार्वजनिक गरिएको उक्त प्रस्तावमा मुलुकको शासन प्रणाली र समावेशी संरचनामा आधारभूत परिवर्तन आवश्यक रहेको उल्लेख गरिएको छ।

advertisement

राईले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति) को व्यवस्था गर्नुपर्ने मुख्य प्रस्ताव अघि सारेका छन्। प्रस्तावअनुसार कार्यकारी प्रमुखले सरकार गठन गर्दा संसद् बाहिरका दक्ष र योग्य व्यक्तिहरूलाई समेटेर मन्त्रिपरिषद् बनाउन सक्नेछन्। यद्यपि, मन्त्रिपरिषद् गठन गर्दा सबै जाति, समुदाय र लिङ्गको समान प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने सर्त राखिएको छ।

व्यवस्थापिकाको भूमिकाबारे उनले संसद्लाई कानुन निर्माण, सरकारको कामकारबाहीको निगरानी तथा मूल्याङ्कनमा सीमित राख्नुपर्ने धारणा व्यक्त गरेका छन्। साथै, संसद्ले कार्यकारी प्रमुखको अधिकारको सीमा निर्धारण गर्ने तथा निरंकुशताको परिभाषा तय गर्ने अधिकार पाउनुपर्ने प्रस्तावमा उल्लेख छ। यदि कार्यकारी प्रमुख निरंकुश बनेमा संसद्ले महाभियोगमार्फत पदबाट हटाउन सक्ने व्यवस्था हुनुपर्ने पनि प्रस्ताव गरिएको छ।

यसका साथै, राईले राज्यका सबै संरचनालाई पूर्ण समावेशी बनाउने विषयमा विशेष जोड दिएका छन्। राजनीतिक नेतृत्वदेखि नेपाली सेना, नेपाल प्रहरी र सम्पूर्ण निजामती सेवासम्म सबै जातजाति र समुदायको समान सहभागिता सुनिश्चित गरिनुपर्ने उनको प्रस्तावमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com