टीकापुर। टीकापुरका स्थानीयले कर्णाली नदी कटान प्रमुख समस्या भएको भन्दै यसको दीर्घकालीन समाधानका लागि प्रभावकारी काम नभएको गुनासो गरेका छन् ।

टीकापुर नगरपालिकामा सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिबीच भएको संयुक्त छलफलमा सहभागीहरूले कर्णाली नदी कटान समयमै नियन्त्रण नभए टीकापुरको तल्लो क्षेत्र उच्च जोखिममा पर्ने चेतावनी दिएका छन् । उनीहरूले टीकापुर पार्कको माथिल्लो भाग र सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा तीव्र रूपमा भइरहेको कटान तत्काल रोक्न माग गरेका छन् ।

advertisement

छलफलमा सहभागी स्थानीयहरूले वर्षौंदेखि नदी नियन्त्रणका लागि विभिन्न कार्यालय तथा निकायमा धाउँदा पनि समस्या समाधान हुन नसकेको गुनासो गरेका छन् । रानी जमरा कुलरिया सिँचाइ आयोजना, कर्णाली नदी नियन्त्रण कार्यालय तथा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाजस्ता निकायबीच समन्वय अभाव रहेको उनीहरूको आरोप छ ।

स्थानीयका अनुसार नदी नियन्त्रणका लागि पर्याप्त बजेट नआएको र भएका केही काम पनि प्रभावकारी नभएको छ । उनीहरूले तटबन्ध निर्माणलाई प्राथमिकता दिएर स्थायी समाधान खोज्नुपर्ने माग गरेका छन् ।

वडाध्यक्षहरूले नदीभित्र थुप्रिएका नदीजन्य पदार्थ उत्खननमा समस्या रहेको र नदी कैलालीतर्फ बगिरहेकाले जोखिम झन् बढ्दै गएको बताएका छन् ।

कार्यवाहक नगर प्रमुख रामबहादुर नगार्जीले तीनै तहका सरकारबीच समन्वय अभावका कारण समस्या जटिल बन्दै गएको भन्दै तत्काल नदी नियन्त्रणका लागि ठोस कदम आवश्यक रहेको बताए ।

रानीजमरा कुलरिया सिँचाइ आयोजना कार्यालयले भने केही क्षेत्रमा तटबन्धको काम भइरहेको भए पनि बजेट अभाव र निर्माण व्यवसायीको असहयोगका कारण काम प्रभावित भएको जनाएको छ ।

सांसद कोमल ज्ञवालीले नदी कटान समस्या गम्भीर भएकाले संसद् र सरकार दुवै तहमा पहल भइरहेको र आगामी बजेटमा प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com