काठमाडौँ । काठमाडौँ मा रहेका सुकुमबासी बस्ती हटाउने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले वैशाख १२ गते बिहान ६ बजेदेखि उपत्यकाका विभिन्न स्थानमा रहेका अवैध बस्ती हटाउने तयारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकपछि उक्त निर्णय गरिएको जनाइएको छ। बैठकपछि काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग समेत छलफल गरिएको थियो।

advertisement

निर्णयअनुसार पहिलो चरणमा थापाथली, मनहरा खोला किनार (जडीबुटी क्षेत्र) र गैह्रिगाउँस्थित सुकुमबासी बस्ती हटाइनेछ। ती क्षेत्रमा अवैध रूपमा बनाइएका घर तथा टहरा डोजर प्रयोग गरी भत्काइने तयारी गरिएको प्रशासनले जनाएको छ।

यसअघि नै स्थानीय प्रशासनले माइकिङमार्फत सूचना जारी गर्दै वैशाख ११ गते साँझ ७ बजेसम्म घर टहरा खाली गर्न निर्देशन दिएको छ। घरमा रहेका सामान, चौपाया तथा बालबालिका, वृद्ध, गर्भवती र सुत्केरीलाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ।

प्रशासनले तोकिएको समयभित्र बस्ती खाली नगरेमा कारबाही गरिने चेतावनी समेत दिएको छ। बस्ती हटाउने क्रममा कुनै अवरोध सिर्जना गरिए कडा कदम चालिने जनाइएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बस्ती हटाउने कार्यमा आवश्यक सुरक्षा व्यवस्था मिलाइनेछ। साथै आगामी १० देखि १५ दिनभित्र वास्तविक भूमिहीनको पहिचान गरी उनीहरूका लागि वैकल्पिक बसोबासको व्यवस्था गर्ने विषयमा समेत छलफल भइरहेको जनाइएको छ।

प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com