काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले काठमाडौंका सुकुमवासी बस्ती खाली गराउने सरकारी तयारीप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने लाई लक्षित गर्दै कडा प्रश्न उठाएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सुकुमवासी बस्तीको तस्बिर सार्वजनिक गर्दै चुनावी अभियानका क्रममा लामिछानेले व्यक्त गरेको अभिव्यक्ति सम्झाएकी छन्। त्यसबेला लामिछानेले सुकुमवासी बस्तीमा सरकार डोजर चलाउन आए आफू “छाती थाप्न आउने” बताएका थिए।

advertisement

उक्त प्रतिबद्धता स्मरण गराउँदै बमले लेखेकी छन्, “आदरणीय रवि लामिछानेज्यू, भोलि यहाँ छाती थाप्न आउनुहुन्छ नि?”

उनले थपेकी छन्, “तपाईंको पार्टीलाई भोट दिनु नै गल्ती भएछ भन्ने आवाज सुनिन थालेको छ। वर्षौंदेखि सुकुमवासीलाई भोट बैंक बनाउने दलहरूभन्दा तपाईंहरू फरक देखिनुभएन भन्ने गुनासो छ।”
बमका अनुसार हाल सुकुमवासी बस्तीका बासिन्दा त्रासमा रहेका छन्। उनले लामिछानेलाई प्रत्यक्ष संवाद गर्न आग्रह गर्दै प्रश्न गरेकी छन्, “सिधा कुरा सुकुमवासीसँग कहिले गर्नुहुन्छ? भोलि आउनुस्।”
यसैबीच, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ले बुधबार साँझ सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै सुकुमवासी बस्ती खाली गराउने तयारी तीव्र बनाउन निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार काठमाडौं उपत्यकाका चार स्थानका बस्ती खाली गराउने तयारी भइरहेको छ।

प्रहरीले सम्बन्धित क्षेत्रमा पुगेर माइकिङमार्फत बासिन्दालाई जानकारी गराइसकेको छ भने सम्भावित हटाउने कार्य भोलि र पर्सी सञ्चालन गर्ने योजना बनाइएको छ।

प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com