काठमाडौं । भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयले दुईपाङ्ग्रे र चारपाङ्ग्रेतर्फका १ लाख ७६ हजार २५० सवारी अनुमतिपत्र (लाइसेन्स) छ महिनाभित्र वितरण गर्ने योजना बनाएको छ ।
कार्यालयका सूचना अधिकारी जीवन बस्नेतका अनुसार मंगलबारदेखि सन् २०२२ देखि २०२४ सम्मका सबै तथा २०२५ का केही लाइसेन्स वितरण सुरु गरिएको हो । बिहीबारसम्म करिब ३ हजार लाइसेन्स वितरण भइसकेका छन् भने अझै करिब १ लाख लाइसेन्स छपाइ भएर आउन बाँकी रहेको उनले बताए ।
उनले भने, “मंगलबारदेखि वितरण सुरु गरेका हौँ । पहिलो दिन ८००, दोस्रो र तेस्रो दिनसम्म गरेर ३ हजार लाइसेन्स वितरण गर्यौँ । हाल ८ जना कर्मचारी बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खटिँदा पनि दैनिक १ हजारभन्दा बढी वितरण गर्न सकिँदैन । यही गतिमा सबै लाइसेन्स वितरण गर्न झण्डै ६ महिना लाग्छ ।”
बस्नेतले सेवाग्राहीलाई एकैचोटि भिड नगर्न आग्रह गर्दै सरकारले उपलब्ध गराएको लाइसेन्स लिन हतार नगर्न सुझाए । लाइसेन्सको बिल तथा मोबाइल एपमार्फत पनि विवरण देखाउन सकिने भएकाले क्रमशः आएर सेवा लिन अनुरोध गरिएको छ ।
लाइसेन्स वितरण सुरु भएसँगै चार वर्षदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको कार्यालयमा भीड बढेको छ । बिहान ७ बजेदेखि नै कार्यालय परिसरमा लाइन लाग्ने गरेको र कार्यालय खुल्नेबित्तिकै बिहान ९ बजेदेखि वितरण सुरु गर्ने गरिएको उनले जानकारी दिए ।
नवीकरणका लागि आवेदन दिएका तथा लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरी नयाँ लाइसेन्सको प्रतीक्षामा रहेका सेवाग्राहीले हालसम्म रसिदकै आधारमा सवारीसाधन चलाउँदै आएका थिए ।
प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया