पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ शेराटारमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइतेलाई थप उपचारका लागि पोखरा पठाइएको छ।
पोखराबाट भैरहवातर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको बस शेराटार क्षेत्रमा दुर्घटनामा परेको हो। बसमा ३२ जना यात्रु सवार रहेका थिए।
दुर्घटनापछि घाइतेमध्ये ३१ जनालाई प्रारम्भिक उपचारका लागि जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्र, बेलचौतारा लगिएको थियो। त्यहीँ उपचारकै क्रममा दुई जनाको मृत्यु भएको उपचार केन्द्रका प्रमुख डा. रामकुमार श्रेष्ठले जानकारी दिएका छन्। मृतकको पहिचान खुल्ने क्रम जारी रहेको छ।
उपचार केन्द्रमै रहेका पत्रकार विनोद ढुंगानाका अनुसार एक जनाको त्यहीँ उपचार भइरहेको छ भने एक जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
अन्य २७ घाइतेलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको छ। उनीहरूलाई एम्बुलेन्स, शवबहान, ट्याक्सी तथा माइक्रोबसमार्फत अस्पताल पुर्याइएको थियो। प्रारम्भिक रूपमा भने घाइतेलाई घटनास्थलबाट स्कुल बस प्रयोग गरी उपचार केन्द्रसम्म ल्याइएको जनाइएको छ।
प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार












प्रतिक्रिया