काठमाडौं । सांसद विश्वराज पोखरेलले एक विद्यालयका प्रधानाध्यापकलाई दुर्व्यवहार गरेको भनिएको घटनाबारे उनको सचिवालयले औपचारिक स्पष्टीकरण सार्वजनिक गरेको छ।
सचिवालयका अनुसार, पोखरेल विद्यालय पुगेका बेला प्रधानाध्यापक कार्यालयमै रहे पनि उनलाई तत्काल भेट नगरी कार्यालय सहयोगीमार्फत कुर्सी दिएर केही समय प्रतीक्षा गर्न भनिएको थियो। विश्वराज पोखरेलले धैर्यपूर्वक प्रतीक्षा गरे पनि लामो समयसम्म प्रधानाध्यापक नआएपछि पुनः बोलाउन पठाइएको उल्लेख गरिएको छ।
त्यसपछि पनि पर्याप्त समयसम्म उपस्थित नभएपछि पोखरेल विद्यालय परिसरबाट बाहिर निस्किएका थिए। सोही क्रममा प्रधानाध्यापक हतारिँदै बाहिर आएर आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेको सचिवालयले दाबी गरेको छ। त्यसपछि दुवै पक्षबीच पुनः भित्र बसेर आपसी सम्मानका साथ आवश्यक छलफल सम्पन्न भएको जनाइएको छ।
यस घटनासम्बन्धी भिडियोको एउटा अंश मात्र सार्वजनिक हुँदा वास्तविक सन्दर्भ नबुझी जनमानसमा भ्रम सिर्जना भएको सचिवालयको भनाइ छ। पूर्ण भिडियो सार्वजनिक भए घटनाको वास्तविकता प्रस्ट हुने दाबी पनि गरिएको छ।
सचिवालयले शिक्षालयजस्ता संवेदनशील संस्थाहरूमा पनि राजनीतिक प्रभाव बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै राजनीतिक शुद्धिकरण केवल शीर्ष तहमा सीमित नराखी सबै क्षेत्रमा आवश्यक रहेको उल्लेख गरेको छ।
प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार













प्रतिक्रिया