काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुकुमवासी बस्ती हटाउने क्रममा सरकारले मानवीय संवेदनशीलता र न्यायसंगत समाधान अपनाउनुपर्ने बताएका छन्।

सरकारले शनिबार बिहानदेखि काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुमवासी बस्ती हटाउने अभियान सञ्चालन गरेसँगै थापाथली क्षेत्रसहितका केही बस्ती खाली गरिसकिएको छ।

advertisement

यसै सन्दर्भमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महासचिव पोखरेलले वर्षौंदेखि बसोबास गर्दै आएका श्रमिकहरू विस्थापित हुँदा उनीहरूको पीडा पनि देखिनुपर्नेमा जोड दिएका छन्। उनले आदेश पालना भएको उत्सव मात्र मनाउनु पर्याप्त नहुने टिप्पणी गरेका छन्।

उनका अनुसार, ‘वर्षौंदेखि बस्तीमा बसेका श्रमिकहरू बाध्य भएर घर छोड्दै गर्दा उनीहरूको अनुहारमा देखिएको पीडा पनि बुझिनुपर्छ। जसको पसिनाले शहर बनेको हो, तिनै मानिस आज विस्थापित हुँदै छन्।’

पोखरेलले यस्ता नागरिकलाई सम्मानजनक विकल्प दिनु राज्यको दायित्व भएको उल्लेख गर्दै समस्या समाधानमा मानवीय दृष्टिकोण आवश्यक रहेको बताए।

उनले यसअघि सुकुमवासी तथा अव्यवस्थित बसोबास समस्या समाधानका लागि कानुनी संरचना बनाएर भूमि आयोगमार्फत प्रक्रिया अघि बढाइएको स्मरण गराउँदै अहिलेको सरकारले पनि त्यसलाई निरन्तरता दिँदै न्यायोचित समाधान खोज्नुपर्ने धारणा राखे।

पोखरेलले चेतावनी शैलीमा विश्वास गुमाएका नागरिकको असन्तोष गम्भीर रूप लिन सक्ने भन्दै राज्यले समयमै संवेदनशील भएर समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

 

प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com