रामेछाप । लगातारको वर्षासँगै विपी राजमार्ग पुनः अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काभ्रेपलाञ्चोकका विभिन्न क्षेत्रमा अत्यधिक वर्षा भइरहेकाले सडकमा जोखिम बढ्ने सम्भावनालाई ध्यानमा राख्दै तत्कालका लागि राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो।
प्रहरीले मौसममा सुधार आएपछि तथा सडक अवस्था सुरक्षित रहेको पुष्टि भएपछि मात्रै पुनः यातायात सञ्चालनबारे सूचना जारी गरिने जनाएको छ। यात्रु तथा सवारी चालकलाई अनावश्यक जोखिम नलिन आग्रह गर्दै आपतकालीन सहयोगका लागि प्रहरी (१००) र ट्राफिक प्रहरी (१०३) मा सम्पर्क गर्न अनुरोध गरिएको छ।
विगतका वर्षहरूमा आएको बाढीका कारण रोशी खोलास्थित राजमार्गको केही भाग क्षतिग्रस्त बनेपछि हाल त्यहाँ अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन हुँदै आएको छ। तर खोलामा सामान्य बाढी आउँदा पनि उक्त डाइभर्सन प्रभावित हुने भएकाले पटक–पटक सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ।
यसपटकको अवरोधका कारण काठमाडौंबाट पूर्वतर्फ जाने र आउने सवारी साधनहरू समेत प्रभावित भएका छन्।
प्रकाशित मिति: १२ बैशाख २०८३, शनिबार












प्रतिक्रिया