काठमाडौं । इरानसँग जोडिएको युद्धका कारण विश्व अर्थतन्त्रमा दबाब बढ्दै गएको देखिएको छ। मध्यपूर्व क्षेत्रमा बढेको तनावले कच्चा तेलको आपूर्तिमा असर पार्दा अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य तीव्र रूपमा उकालो लागेको छ, जसको प्रभाव अहिले दैनिक उपभोग्य वस्तुहरूमा समेत पर्न थालेको छ।
मध्यपूर्व विश्वको प्रमुख ऊर्जा स्रोत आपूर्तिकर्ता क्षेत्र भएकाले त्यहाँको अस्थिरताले विश्व बजारमा प्रत्यक्ष असर पार्ने गर्छ। तेलको मूल्य वृद्धि हुँदा इन्धन मात्र नभई पेट्रोलियमजन्य कच्चा पदार्थमा निर्भर उद्योगहरू पनि प्रभावित भइरहेका छन्।
विशेषगरी पोलिस्टर र एक्रिलिकजस्ता कृत्रिम धागो तथा विभिन्न रसायनको लागत बढ्दा कपडा, जुत्ता, प्लास्टिक, सौन्दर्य सामग्री, औषधि तथा इलेक्ट्रोनिक उपकरण उत्पादन महँगिँदै गएको छ। उद्योगीहरूका अनुसार कच्चा पदार्थको मूल्य १० देखि १५ प्रतिशतसम्म बढिसकेको छ र आगामी दिनमा खुद्रा मूल्य अझै बढ्ने सम्भावना देखिएको छ।
यस्तै, पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै ढुवानी खर्च बढ्दा खाद्यान्न, लत्ताकपडा र अन्य अत्यावश्यक वस्तुहरूको मूल्यमा थप दबाब परेको छ। हवाई इन्धन महँगिँदा एयरलाइन्सहरूले पनि भाडादर बढाउन थालेका छन्, जसले यात्रुहरूलाई थप आर्थिक भार परेको छ।
विश्लेषकहरूका अनुसार तेलमा निर्भर विश्व अर्थतन्त्रका लागि यस्तो द्वन्द्वले महँगी बढाउने, आपूर्ति शृंखला अवरुद्ध गर्ने र आर्थिक गतिविधिमा सुस्तता ल्याउने जोखिम बढाएको छ। त्यसैले इरानसँग सम्बन्धित यो तनाव क्षेत्रीय सीमाभन्दा बाहिर गएर विश्वव्यापी आर्थिक स्थिरतामै चुनौतीका रूपमा देखा परेको छ।
प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार













प्रतिक्रिया