काठमाडौँ । नियमित गस्तीका क्रममा प्रहरीले देशका विभिन्न स्थानबाट ४१ जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट चिकित्सकको सिफारिसमा मात्र बिक्री हुने १३० थान ट्रामाडोल ट्याब्लेट र रु ६८ हजार २०० नगदसहित एक किशोर पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलालीको टीकापुर नगरपालिका–१, घोडाघोडी नगरपालिका–१० पहलमानपुर, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ सिम्ताली चोक, कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९, सुनसरीको इनरुवा नगरपालिका–४ बसचोक र दाङको घोराही उपमहानगरपालिका–१५ भानुचोकबाट खैरो हेरोइनसहित एक–एक तथा केही स्थानबाट दुई–दुई जनालाई पक्राउ गरिएको हो । उनीहरूबाट लागुऔषध जोख्न प्रयोग हुने तराजु समेत बरामद गरिएको छ ।
त्यसैगरी, काठमाडौँ महानगरपालिका–४ सुकेधाराबाट खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् भने बल्खुचोकबाट दुई जनालाई ९९८ थान ट्रामाडोल ट्याब्लेट र रु १६ हजार ५०० नगदसहित नियन्त्रणमा लिइएको छ ।
यसैगरी इलाम, झापा, कञ्चनपुर, रुपन्देही, विराटनगर, रुकुमपश्चिम, दाङ, बर्दिया, पोखरा र धनुषाका विभिन्न स्थानबाट पनि लागुऔषधसहित थप व्यक्तिहरू पक्राउ परेका छन् । धनुषाबाट चिकित्सकको सिफारिसमा मात्र पाइने २५० थान नाइट्राजेपाम ट्याब्लेटसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार













प्रतिक्रिया