एजेन्सी । अमेरिकाको राजधानी वासिङ्टन डीसीमा आयोजना गरिएको ह्वाइट हाउस करस्पोन्डेन्ट्स डिनरका क्रममा अचानक गोली चलेको जस्तो आवाज सुनिएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई सेक्रेट सर्भिसले तत्काल सुरक्षित स्थानमा सारेको छ।
शनिबार साँझ वासिङ्टन हिल्टन होटलको बैंक्वेट हलमा कार्यक्रम सञ्चालन भइरहेकै बेला ठूलो विस्फोटजस्तो आवाज आएपछि सुरक्षा निकाय उच्च सतर्कतामा पुगेको थियो। त्यसलगत्तै सुरक्षाकर्मीहरूले राष्ट्रपतिलाई घेरेर सुरक्षित स्थानतर्फ लगेका थिए।
घटनाका क्रममा खिचिएका दृश्यहरूमा राष्ट्रपति ट्रम्पसहित उपस्थित अतिथिहरू टेबलमुनि लुकेर बसेको देखिन्छ। हलभित्र रहेका मानिसहरू ‘तल बस्नुहोस्, सुरक्षित रहनुहोस्’ भन्दै चिच्याइरहेका थिए, जसले केही समयका लागि अफरातफरीको अवस्था सिर्जना गरेको थियो।
आवाज आएलगत्तै सशस्त्र सेक्रेट सर्भिसका सुरक्षाकर्मीहरू सक्रिय हुँदै राष्ट्रपति डोनल्ड ट्रम्पलाई सुरक्षित बाहिर निकालेका थिए। त्यसपछि सम्पूर्ण कार्यक्रम स्थल सुरक्षाकर्मीहरूको नियन्त्रणमा लिइएको छ।
घटनास्थलमा रहेका एक सुरक्षा अधिकारीका अनुसार सातदेखि आठ राउन्डसम्म गोली चलेको हुनसक्ने अनुमान गरिएको छ।
सन्दिग्ध बन्दुकधारीको अवस्थाबारे भने विभिन्न विवरणहरू सार्वजनिक भएका छन्। केही स्रोतले उनी मारिएको बताएका छन् भने अन्यले नियन्त्रणमा लिइएको जनाएका छन्। यसैबीच राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत सन्दिग्ध व्यक्ति पक्राउ परेको जानकारी दिएका छन्।
प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार













प्रतिक्रिया