काठमाडाैं । गायिका रचना रिमाल लाई गृहजिल्ला झापा जाने क्रममा लगातार खराब मौसमका कारण ठूलो असहजता भोग्नुपरेको छ। मौसम प्रतिकूल हुँदा उनको झापा उडान दुई दिनदेखि प्रभावित बनेको हो।
सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै उनले शनिबार काठमाडौँबाट झापाका लागि उडेको जहाज केही समयपछि मौसम बिग्रिएपछि पुनः काठमाडौँमै फर्कनुपरेको जानकारी दिएकी छन्। त्यसैगरी, आइतबार बिहान पुनः उडान भरेको जहाज पनि खराब मौसमकै कारण जनकपुरमा आकस्मिक अवतरण गर्नुपरेको उनले उल्लेख गरेकी छन्।
उनले लेखेकी छन्, ‘कहिलेकाहीँ मौसमले साथ दिँदैन। हिजो झापा जाँदै गर्दा उडेको केही समयमै मौसम बिग्रिएपछि जहाज काठमाडौँ फर्कियो। आज बिहान फेरि उडेको जहाज पनि मौसमकै कारण जनकपुरमा अवतरण गर्नुपर्यो।’
पछिल्ला केही दिनदेखि देशभर मौसममा आएको बदलीका कारण आन्तरिक उडानहरू प्रभावित भइरहेका छन्।
प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार













प्रतिक्रिया