काठमाडौं। विश्व बैंक को पछिल्लो प्रतिवेदनले विश्वभरका सहरहरूमा बढ्दो तापक्रम गम्भीर चुनौतीका रूपमा देखिएको जनाएको छ।
प्रतिवेदनअनुसार सन् २०५० सम्ममा सहरमा बस्ने र अत्यधिक गर्मीको सामना गर्ने गरिबहरूको संख्या झन्डै ७०० प्रतिशतले बढ्ने अनुमान गरिएको छ।
विशेषगरी विकासोन्मुख देशहरूका सहरहरूमा तीव्र सहरीकरण र जलवायु परिवर्तनका कारण समस्या झन् गम्भीर बन्दै गएको उल्लेख गरिएको छ।
यसले अहिलेको तुलनामा सात गुणा बढी मानिसहरूलाई प्रत्यक्ष रूपमा प्रभावित पार्नेछ।
प्रतिवेदनले बढ्दो तापक्रमले जनस्वास्थ्य, शिक्षा र आर्थिक उत्पादनमा गम्भीर असर पार्ने चेतावनी दिएको छ।
अत्यधिक गर्मीका कारण मजदुरहरू काम गर्न नसक्ने, विद्यालयहरू सञ्चालनमा समस्या आउने र अस्पतालहरूमा बिरामीको चाप बढ्ने अवस्थासमेत देखिन थालेको उल्लेख गरिएको छ।
सहरहरूमा अत्यधिक कङ्क्रिट संरचना र हरियालीको अभावका कारण तापक्रम अझ बढी महसुस हुने ‘सहरी ताप प्रभाव’ बढ्दै गएको छ, जसले केही स्थानमा तापक्रम १० डिग्री सेल्सियससम्म बढी अनुभव गरिने अवस्था सिर्जना गरेको छ।
बढ्दो गर्मीसँगै विद्युत् खपतमा वृद्धि भई ऊर्जा प्रणालीमा पनि दबाब बढ्ने देखिएको छ।
प्रतिवेदनले पश्चिम अफ्रिका र दक्षिण–पूर्वी एसियाका सहरहरूलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा औंल्याएको छ, जहाँ गरिब समुदाय र बाहिर काम गर्ने मजदुरहरू सबैभन्दा बढी प्रभावित हुनेछन्।
यस चुनौतीको समाधानका लागि विश्व बैंकले अन्य अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य गर्दै सहरहरूका लागि विशेष मार्गदर्शन सामग्रीसमेत सार्वजनिक गरेको छ।
यसमा हरियाली विस्तार, भवन संरचनामा प्राकृतिक हावा र प्रकाशको व्यवस्था, छतमा बगैँचा बनाउने तथा सस्तो शीतलन उपाय अपनाउने जस्ता सुझाव समावेश छन्।
विज्ञहरूका अनुसार अब बढ्दो गर्मीलाई सामान्य मौसमी समस्या ठानेर बेवास्ता गर्ने अवस्था छैन।
समयमै प्रभावकारी कदम नचाले भविष्यमा यसले मानवीय तथा आर्थिक क्षतिलाई अझ गम्भीर बनाउने चेतावनी दिइएको छ।
प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार













प्रतिक्रिया