काठमाडौं । अमेरिकाले भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोको कानुनी प्रतिरक्षाका लागि लाग्ने खर्च भुक्तानी गर्न भेनेजुएला सरकारलाई अनुमति दिने निर्णय गरेको छ।

यसका लागि आवश्यक प्रतिबन्धहरू आंशिक रूपमा खुकुलो बनाउने विषयमा अमेरिकी पक्ष सहमत भएको हो। लागुऔषध तस्करीसम्बन्धी आरोपमा मादुरोविरुद्ध हाल अमेरिकाको न्यूयोर्कस्थित संघीय अदालतमा मुद्दा विचाराधीन छ।

advertisement

मादुरोका वकिल ब्यारी पोल्याकले आफ्ना मुवक्किललाई आफूले रोजेको कानुनी सल्लाहकार राख्ने अधिकारबाट वञ्चित गरिएको भन्दै मुद्दा खारेज गर्न माग गरेका थिए। प्रतिबन्धका कारण कानुनी शुल्क तिर्न नसक्नु संविधानसम्मत अधिकारको उल्लंघन भएको तर्क उनले अघि सारेका थिए।

म्यानहट्टनस्थित अमेरिकी जिल्ला न्यायाधीश एल्भिन हेलस्टाइनले पनि यही विषयमा प्रश्न उठाउँदै प्रतिबन्धकै कारण प्रतिरक्षाको अधिकार सीमित हुनु संवैधानिक रूपमा विवादास्पद भएको टिप्पणी गरेका थिए।

यसबीच अमेरिकी न्याय मन्त्रालयले भेनेजुएला सरकारले मादुरोको कानुनी खर्च व्यहोर्न सक्ने गरी प्रतिबन्ध परिमार्जन गर्न सहमति जनाएको जनाएको छ। यस निर्णयसँगै मुद्दा खारेजीको माग अब सान्दर्भिक नरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ।

यसै वर्ष जनवरीमा अमेरिकी सेनाले मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई भेनेजुएलाबाट नियन्त्रणमा लिएको थियो। उक्त कदमलाई केही कानुनविद्हरूले अन्तर्राष्ट्रिय कानुनविपरीतको कार्य र अपहरणको रूपमा व्याख्या गरेका छन्।

अन्तर्राष्ट्रिय कानुनअनुसार बहालवाला राष्ट्राध्यक्षलाई विदेशी अदालतबाट उन्मुक्ति प्राप्त हुने व्यवस्था छ। तर, ट्रम्प  प्रशासनले मादुरोलाई भेनेजुएलाको वैधानिक नेता नमान्ने तर्क गर्दै उक्त सैन्य कारबाहीलाई वैध ठहर गरेको थियो।

मादुरोले भने आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै ती आरोपहरू भेनेजुएलाका प्राकृतिक स्रोतहरूमाथि नियन्त्रण जमाउने अमेरिकी प्रयासको हिस्सा भएको दाबी गरेका छन्।
यो प्रकरणले अमेरिकी न्याय प्रणालीभित्र विदेशी नागरिकका संवैधानिक अधिकार र सरकारको परराष्ट्र नीतिबीचको द्वन्द्वलाई स्पष्ट रूपमा उजागर गरेको छ।

प्रकाशित मिति: १३ बैशाख २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com