काठमाडौं । । उत्तरी नाका रसुवागढी नाकाबाट चालु आर्थिक वर्षको नौ महिनामा रु ३१ अर्ब ३० करोड बराबरका सामान आयात भएका छन्।
नेपाल–चीन व्यापारको महत्वपूर्ण प्रवेशद्वारका रूपमा रहेको यस नाकाबाट सोही अवधिमा आयातित वस्तुको मूल्याङ्कनका आधारमा रु ६ अर्ब ४२ करोड राजस्व सङ्कलन भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिएका छन्। कठिन भौगोलिक अवस्था र पटक–पटक आउने प्राकृतिक अवरोधका बाबजुद पनि व्यापार सञ्चालन जारी रहेको उनले बताए।
नाकाबाट आयात हुने प्रमुख सामग्रीमा रोलकपडा, तयारी पोसाक, विद्युतीय इभी सवारी, जलविद्युत् तथा पूर्वाधार आयोजनाका निर्माण सामग्री, स्याउ, लसुन, औद्योगिक कच्चापदार्थ, उद्योग तथा मिलका मेसिनरी उपकरण र नेपाली सेनाले निर्माण गरिरहेको फास्ट ट्र्याक आयोजनाका सामग्री रहेका छन्।
नेपालबाट चीनतर्फ भने हस्तकला सामग्री, परम्परागत नेपाली कपडा, बाँसका मुढा, तिब्बत क्षेत्रमा चौँरीका लागि प्रयोग हुने ‘प्याकिङ’ गरिएको सुक्खा घाँस, चाउचाउ तथा बिस्कुट गरी करिब रु ६५ करोड बराबरका वस्तु निर्यात भएका छन्। सीमित उत्पादन क्षमताका बाबजुद निर्यात क्रम विस्तार हुँदै गएको जनाइएको छ।
गत असार २४ गते ल्हेन्देखोलामा आएको भीषण बाढीले मितेरी पुल बगाउँदा केही समय व्यापार पूर्ण रूपमा प्रभावित भएको थियो। पुल पुनःनिर्माण ढिलो हुँदा गत पुस १७ गतेदेखि मात्र आयात–निर्यात पुनः नियमित रूपमा सञ्चालनमा आएको भन्सार कार्यालयले जनाएको छ।
ऐतिहासिक रूपमा भृकुटी र श्रङ्चङ गम्पोबीचको वैवाहिक सम्बन्धपछि नेपाल–तिब्बत व्यापार विस्तार भएको मानिन्छ। सोही ऐतिहासिक मार्ग आज आधुनिक स्वरूपमा विकास भई रसुवागढी नेपालको प्रमुख उत्तरी व्यापारिक नाका बनेको छ।
चीन सरकारले २०७२ मङ्सिर १५ गतेदेखि यस नाकालाई पूर्ण मान्यता दिएपछि व्यापारिक गतिविधि थप बढेको हो। छोटो दूरी, सहज पहुँच र अन्तरराष्ट्रिय व्यापारको सम्भावनाका कारण अधिकांश व्यवसायी यस नाकातर्फ आकर्षित भएको गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष कामीछिरिङ तामाङले बताएका छन्।
यद्यपि, साँघुरो सडक, बाढी–पहिरो र स्तरोन्नति कार्यका कारण रसुवागढी क्षेत्र बारम्बार प्रभावित हुँदै आएको छ। व्यवसायीहरूले सडक पूर्ण रूपमा बन्द नगरी समय तालिका मिलाएर मर्मत र व्यापार दुवै कार्य सञ्चालन गर्न माग गरेका छन्।
बाढीको असरका कारण भन्सार यार्डमा सामान जाँचपास गर्ने मुख्य स्थान बालुवा खोलाको किनारमा रहेको छ। चिसो हावा र धुलोबीच कर्मचारीले दिनभरि काम गर्नुपर्ने अवस्था रहेको छ। पर्याप्त संरचना, सुरक्षित भवन र उपयुक्त कार्य वातावरणको अभावमा कर्मचारीहरू कठिन परिस्थितिमा सेवा दिन बाध्य रहेको गुनासो गरिएको छ।
प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार













प्रतिक्रिया