सियोल। रुस–युक्रेन युद्धमा आफ्ना सैनिकको संलग्नता थप खुलाउँदै उत्तर कोरियाले युद्धमा मारिएका सैनिकहरूको सम्झनामा प्योङयाङमा स्मारक सङ्ग्रहालय स्थापना गरेको छ।

यस कदमलाई उत्तर कोरिया र रुसबीच गहिरिँदो सैन्य सम्बन्धको नयाँ संकेतका रूपमा हेरिएको छ।

advertisement

उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार उक्त सङ्ग्रहालयको उद्घाटन आइतबार गरिएको हो।

कार्यक्रममा नेता किम जोङ उन रुसका उच्च अधिकारीहरूसँग सहभागी भएका थिए।

कार्यक्रममा रूसी संसद्का सभामुख व्याचेस्लाभ भोलोडिन तथा रक्षामन्त्री आन्द्रेई बेलोसोभ पनि उपस्थित थिए।

समारोहका क्रममा किम जोङ उनले युद्धमा मारिएका सैनिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक सैनिकको शवमा माटो चढाएका थिए भने अन्य वीरगति प्राप्त सैनिकहरूको सम्मानमा फूल अर्पण गरिएको थियो।

उनले ती सैनिकहरूको बलिदानलाई कोरियाली जनताको वीरता र कोरिया–रुस मित्रताको प्रतीक बताएका थिए।

अप्रिल २०२५ मा उत्तर कोरिया र रुसले संयुक्त रूपमा आफ्ना सैनिकहरूले रुसको कुस्र्क क्षेत्रमा युक्रेनी आक्रमण रोक्न सँगै लडेको सार्वजनिक गरेका थिए।

यद्यपि सैनिकहरूको आधिकारिक संख्या खुलाइएको छैन।

दक्षिण कोरियाको गुप्तचर निकायले करिब १५ हजार उत्तर कोरियाली सैनिक पठाइएको र तीमध्ये झन्डै दुई हजार मारिएको अनुमान गरेको छ।

रक्षामन्त्री बेलोसोभसँगको भेटमा किमले रुसको सुरक्षा नीतिप्रति पूर्ण समर्थन जनाउँदै आगामी वर्षहरूमा सैन्य सहकार्य अझ विस्तार गर्ने संकेत दिएका छन्।

रूसी समाचार एजेन्सी तासका अनुसार दुवै देश सन् २०२७ देखि २०३१ सम्मको संयुक्त सैन्य सहकार्य योजनामा हस्ताक्षर गर्न तयारी अवस्थामा छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पठाएको सन्देशमा नयाँ सङ्ग्रहालयलाई दुई देशबीचको मित्रता र एकताको प्रतीक भन्दै रणनीतिक साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

रुसले युक्रेनमाथि आक्रमण थालेपछि उत्तर कोरियाले मस्कोलाई हतियार तथा सैन्य सहयोग उपलब्ध गराउँदै आएको मानिन्छ।

बदलामा आर्थिक र प्राविधिक सहयोग प्राप्त गरिरहेको अनुमान गरिएको छ।

विशेषगरी रुसबाट आणविक तथा मिसाइल प्रविधि हस्तान्तरण हुन सक्ने आशंकाले दक्षिण कोरिया, अमेरिका तथा उनका सहयोगी राष्ट्रहरूमा चिन्ता बढाएको छ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com