काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले माइतीघर मण्डलामा भएको झडपका क्रममा आफ्नो पत्नीमाथि गालीगलौज र हातपात भएको बताएका छन् ।
सोमबार दिउँसो माइतीघर मण्डलामा शोभा पाठक र अम्बिका बस्नेतबीच विवाद चर्किँदा झडप भएको थियो । सोही क्रममा केही व्यक्तिहरू, पुरुषसहित,ले आफ्नो पत्नीमाथि दुर्व्यवहार गरेको बस्नेतको दाबी छ ।
उनका अनुसार शोभा पाठक, रश्मिला धामीलगायतका युवतीहरू सुधन गुरुङको पुनर्बहालीको माग गर्दै धर्नामा बसेका बेला अम्बिका बस्नेतसहित केही महिलाहरू त्यहाँ पुगेपछि विवाद उत्पन्न भएको हो ।
घटनापछि बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आफ्नो परिवारविरुद्ध साइबर अपराधको उजुरी दिन साइबर ब्युरो जाँदै गर्दा माइतीघर क्षेत्रमा भएको भीड झ्यालबाट हेर्दा त्यहाँ उपस्थित केही व्यक्तिहरूले आफ्नो पत्नीसहित अन्य महिलामाथि गालीगलौज र हातपात गरेको बताएका छन् । उनले उल्टै आफ्नो पत्नीसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
बस्नेतले घटनालाई केही सञ्चारमाध्यमहरूले गलत रूपमा प्रस्तुत गरी भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् । साथै, माइतीघर मण्डलाजस्तो सार्वजनिक स्थानलाई व्यक्तिको चरित्रहत्या गर्ने थलोका रूपमा प्रयोग गर्नु निन्दनीय भएको उनको भनाइ छ ।
उनले यस्तो संवेदनशील विषयमा सरकार मौन बस्न नहुने उल्लेख गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । अन्यथा कडा प्रतिरोध गरिने चेतावनीसमेत दिएका छन् ।
यता शोभा पाठकले भने आफूलाई महेश बस्नेतकी पत्नी तथा एमाले कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएकी छन् ।
प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार













प्रतिक्रिया