कायरो। विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुज जलघाँटीमा जारी तनाव कम गर्ने प्रयासस्वरूप इरानले जलमार्गमाथिको आफ्नो नियन्त्रण हटाउन तयार रहेको संकेत दिएको छ।

तर त्यसको बदलामा अमेरिकाले लगाएको नाकाबन्दी हटाउनुपर्ने शर्त अघि सारेपछि कूटनीतिक प्रयास फेरि जटिल बनेको छ।

advertisement

क्षेत्रीय स्रोतहरूका अनुसार इरानले जलघाँटीमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न सकिने जनाएको छ, तर आफ्ना बन्दरगाहमाथिको अमेरिकी दबाब र नाकाबन्दी अन्त्य हुनुपर्ने अडान राखेको छ।

यस प्रस्तावलाई युद्धविरामलाई दीर्घकालीन समाधानतर्फ लैजाने प्रयासका रूपमा हेरिए पनि सहमति अझै टाढा देखिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानको आणविक कार्यक्रम अन्त्य नगरी कुनै स्थायी समाधान सम्भव नहुने दोहोर्‍याएका छन्।

उनले प्रत्यक्ष वार्ताका लागि इरान स्वयं अघि आउनुपर्ने बताएका छन्।

यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघची रुसको सेन्ट पिटर्सबर्ग पुगेका छन्, जहाँ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

इरानले पछिल्ला घटनाक्रमबारे क्षेत्रीय साझेदारहरूसँग परामर्श तीव्र बनाएको छ।

इस्लामाबादमा इरान–अमेरिका वार्ता पुनः सुरु हुने चर्चा भए पनि अमेरिकी पक्षले प्रत्यक्ष भेटभन्दा टेलिफोन संवादलाई प्राथमिकता दिएपछि प्रक्रिया प्रभावित भएको बताइएको छ।

इरानले वार्ता ढिलाइ हुनुमा अमेरिकी ‘अत्यधिक माग’ जिम्मेवार रहेको आरोप लगाएको छ।

पर्सियन खाडीको प्रवेशद्वार मानिने हर्मुज जलघाँटी अहिले पनि विश्व अर्थतन्त्रको केन्द्रबिन्दु बनेको छ।

विश्वको करिब पाँचौँ भाग तेल र ग्यास यही मार्ग हुँदै आपूर्ति हुने भएकाले तनावले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढाएको छ।

सोमबार ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल करिब १०७ डलरसम्म पुगेको बताइएको छ।

जलमार्गमा अवरोधका कारण तेल मात्र होइन, तरलीकृत ग्यास, मल तथा अन्य वस्तुको आपूर्ति पनि प्रभावित भएको छ।

धेरै ट्याङ्करहरू पर्सियन खाडीमै रोकिएका छन्, जसले विश्वव्यापी आपूर्ति शृङ्खलामा थप दबाब सिर्जना गरेको छ।

गत फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इजरायल संयुक्त आक्रमणपछि भड्किएको युद्ध औपचारिक रूपमा रोकिए पनि स्थायी समाधान निस्किन सकेको छैन।

दुवै पक्षले सैन्य चेतावनी जारी राखिरहेका बेला कूटनीतिक प्रयास भने अझै अनिश्चित बनेको छ।

प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com