काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत रूपमा सबै नागरिकको घर–घरमा पुग्न सम्भव नभए पनि सरकारका नीतिमार्फत हरेक घरसम्म सेवा र प्रभाव पुर्याइने बताएका छन् ।
सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू सक्रिय रूपमा काम गरिरहेको दाबी गर्दै नीतिगत पहुँच नै महत्वपूर्ण हुने बताए । ‘नेताका रूपमा म सबैको घरमा पुग्न सक्दिनँ, तर रास्वपाको नीति हरेक घरसम्म पुग्छ र त्यसले नागरिकलाई सहजता दिन्छ,’ उनले भने ।
लामिछानेले सुकुम्बासी बस्ती हटाउने क्रममा स्थानीय बासिन्दाहरूले समेत सहयोग गरेको उल्लेख गर्दै सरकारप्रति विश्वासको वातावरण बनेको दाबी गरे । ‘सरकारले केही गर्छ भन्ने भरोसा भएपछि नागरिक स्वयं सहकार्य गर्न तयार हुन्छन्,’ उनले बताए ।
उनका अनुसार नागरिकको विश्वास जित्नु नै सरकारका लागि सबैभन्दा ठूलो उपलब्धि हो । ‘सरकार बन्ने–ढल्ने क्रम चलिरहन्छ, तर जनताको विश्वास प्राप्त गरेको सरकार टिकाउ हुन्छ र नागरिक पनि त्यससँगै अघि बढ्छन्,’ उनले भने ।
यद्यपि, सुकुम्बासी बस्ती व्यवस्थापनका क्रममा केही कठिनाइ र असहजता उत्पन्न भएको स्वीकार गर्दै उनले परिवर्तनको प्रक्रियामा यस्तो अवस्था स्वाभाविक हुने बताए । ‘परिवर्तनको यो चरणमा केही पीडा सबैले भोग्नुपर्छ, तर यसको दीर्घकालीन परिणाम सकारात्मक हुन्छ,’ उनले उल्लेख गरे ।
उनले भावी पुस्तालाई वर्तमान जस्तो समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले अहिले केही चुनौती सामना गर्नुपर्ने धारणा पनि व्यक्त गरे ।
प्रकाशित मिति: १४ बैशाख २०८३, सोमबार













प्रतिक्रिया