काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व अन्त्यका लागि इरानले अघि सारेको पछिल्लो प्रस्ताव स्वीकार नगर्ने संकेत गरेका छन्। तेहरानले स्ट्रेट अफ हर्मुज पुनः सञ्चालन गर्ने तर आफ्नो विवादित परमाणु कार्यक्रमबारे पछि मात्र छलफल गर्ने गरी पठाएको प्रस्तावमा ट्रम्पले असहमति जनाएको समाचार संस्था सिएनएनले जनाएको छ।
सोमबार राष्ट्रिय सुरक्षा अधिकारीहरूसँगको बैठकमा ट्रम्पले इरानको यो योजनाप्रति नकारात्मक धारणा राखेको स्रोतले जनाएको छ। परमाणु कार्यक्रम र युरेनियम भण्डारणको मुद्दा समाधान नगरी हर्मुज मात्र खोल्न अनुमति दिँदा वार्तामा अमेरिकाको दबाब कमजोर हुने अधिकारीहरूको विश्लेषण छ। यद्यपि, हर्मुज बन्द रहिरहँदा अमेरिकामा इन्धनको मूल्य वृद्धि भई सर्वसाधारणलाई असर पर्ने चुनौती पनि ट्रम्पसामु रहेको समाचारमा उल्लेख छ।
ह्वाइट हाउसले यस कूटनीतिक छलफलबारे विस्तृत विवरण नदिए पनि अमेरिकी हितलाई केन्द्रमा राखेर मात्र सम्झौता हुने स्पष्ट पारेको छ। सहायक प्रेस सचिव ओलिभिया वेल्सले अमेरिकाको हात माथि रहेको र इरानलाई कुनै पनि हालतमा परमाणु हतियार बनाउन नदिने दोहोर्याएकी छन्।
प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया