काठमाडौं । ठेक्कापट्टामा अनियमितता गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष विक्रम पाण्डेलाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
जिल्ला अदालत काठमाडौंले दिएको उक्त आदेशअनुसार प्रहरीले पाण्डेमाथि थप अनुसन्धान अघि बढाउने भएको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई गत शुक्रबार पक्राउ गरेको थियो। निर्माण व्यवसायीसमेत रहेका पाण्डे कालीका कन्स्ट्रक्सनका सञ्चालक हुन्। यस प्रकरणमा हालसम्म १३ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्, जसमध्ये ७ जना निर्माण व्यवसायी रहेका छन्।
पाण्डेमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन ‘ई–बिडिङ’ प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोप लागेको छ। आर्थिक प्रस्ताव खोल्नुअघि नै आफ्नो प्रस्ताव संशोधन गरी ठेक्का हात पार्ने प्रयास गरेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसै घटनामा भिषण कन्स्ट्रक्सन प्रालिका सञ्चालक सामाखुशी निवासी टंककुमार श्रेष्ठ तथा चपुर निर्माण सेवा प्रालिका सञ्चालक बानियाटार निवासी अमृत बोहरालाई पनि पक्राउ गरिएको छ।
प्रहरीले यो प्रकरणमा संगठित अपराध निवारण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया