काठमाडौं। मुलुकको सङ्घीय राजधानी काठमाडौँमा पर्यटक बोक्ने सवारी साधनका लागि छुट्टै बसपार्क नहुँदा पर्यटकीय बस विभिन्न स्थानमा रहन बाध्य भएका छन्।
मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटकलाई बोक्ने सवारीसाधनका लागि छुट्टै बसपार्क नहुँदा बौद्ध, सोह्रखुट्टेलगायत सडकबाट पर्यटकीय बस देशका विभिन्न भागमा आवतजावत गर्दै आएका छन्।
कोरोना महामारीबाट नराम्रोसँग थला परेको नेपालको पर्यटन व्यवसायलाई अगाडि बढाउन सरकारले विभिन्न कार्यक्रम अगाडि सारेपनि सङ्घीय राजधानी काठमाडौँमै पर्यटकी बसका लागि पार्किङस्थल नहुँदा व्यवसायीहरु समस्यामा परेका हुन्।
टुरिष्ट बस एशोसियशन अफ नेपालका पूर्वअध्यक्ष एवं बाबा एडभेन्चर ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक प्रह्लाद लोहनी विदेशी मुद्रा आर्जन गर्ने प्रमुख व्यवसाय मानिएको पर्यटनका लागि छुट्टै बसपार्क नहुँदा समस्या भएको बताउँछन्।
“विदेशी पर्यटक नेपालमा घुम्न आउने हुन्, घुम्नका लागि कहाँबाट बस चढ्ने भन्नेबारे अहिलेसम्म एउटा व्यवस्थित बसपार्क छैन, पर्यटकीय बसपार्क नहुँदा अन्तर्राष्ट्रियस्तरमा समेत नेपालको पर्यटन क्षेत्रको राम्रो सन्देश जान सकेको छैन,” उनी भन्छन्।
पर्यटकीय बसका लागि व्यवस्थित बसपार्क नहुँदा अस्थायी रूपमा सोह्रखुट्टेको सडकबाट सवारीसाधन देशका प्रमुख पर्यटकीय गन्तव्यस्थलमा जाने गरेका छन्। काठमाडौँदेखि पोखरा र चितवनको सौराहा, लुम्बिनी, जनकपुरलगायत प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजान पर्यटकीय बस सञ्चालन हुँदै आएका छन्।
तीन दशकभन्दा बढी समय कान्तिपथबाट पर्यटकीय सवारीसाधन ओहोरदोहोर गरेपनि काठमाडौँ महानगरपालिकाले ट्राफिक प्रहरीसँगको समन्वयमा कान्तिपथ क्षेत्रमा धेरै भीडभाड हुने गरेको भन्दै विसं २०७५ असार १६ गते उक्त क्षेत्रबाट पर्यटकीय बसपार्क हटाएर सोह्रखुट्टे सडकमा अस्थायी रुपमा स्थानान्तरण गराएको थियो।
सोह्रखुट्टेबाट चल्ने पर्यटकीय बस बिहान ७ बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा, सौराहा, लुम्बिनी र जनकपुर जाने गरेका छन्।
नेपाल एशोसियशन टुर्स एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा)का अध्यक्ष रमेश थापा विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रूपमा विकास गरेपनि नेपालमा छुट्टै बसपार्क नहुँदा व्यवसायी समस्या परेको बताउँछन्।
“पर्यटन क्षेत्रको विकासका लागि सरकारले ठमेल आसपासको क्षेत्रमा छुट्टै बसपार्क निर्माण गर्नुपर्छ भन्ने माग नाट्टाले राख्दै आएको छ,” उनी भन्छन्।
टिवानका पूर्वउपाध्यक्ष एवं नाट्टाका सदस्य ढकनाथ काफ्ले पनि पर्यटकीय बसपार्क निर्माणका लागि पहल भए पनि काम अघि नबढेको बताउँछन्।
काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता महेशकुमार काफ्लेले पर्यटकीय बसका लागि छुट्टै बसपार्क आवश्यक रहेको र महानगर सकारात्मक रहेको बताएका छन्।
हाल काठमाडौँबाट पोखरा र चितवनको सौराहका लागि झण्डै १०० पर्यटकीय बस सञ्चालनमा छन् भने दैनिक दुई हजारदेखि तीन हजार पर्यटक ओसारपसार हुँदै आएको व्यवसायीले बताएका छन्।
प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया