काठमाडौं। खानेपानीमन्त्री निशा मेहताले मेलम्ची खानेपानी आयोजनालाई दिगो र सुरक्षित बनाउन सरकारले आवश्यक काम गरिरहेको बताएकी छन्।
मंगलबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले मेलम्ची परियोजनालाई दीर्घकालीन रूपमा सञ्चालनयोग्य र सुरक्षित बनाउने विषयमा सरकार गम्भीर रहेको स्पष्ट पारिन्।
मन्त्री मेहताले मेलम्ची आयोजना काठमाडौं उपत्यकावासीको स्वच्छ खानेपानीको आशाको केन्द्र रहेको उल्लेख गर्दै यसमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताइन्।
उनका अनुसार मेलम्ची आयोजना अझै पनि विभिन्न समस्या र चुनौतीले घेरिएको अवस्थामा छ। आयोजनालाई दिगो र सुरक्षित बनाउने विषयमा मन्त्रालयमा पटक–पटक छलफल भइरहेको भए पनि ठोस निष्कर्षमा पुग्न भने अझै बाँकी रहेको उनले जानकारी दिइन्।
मन्त्री मेहताले सरकारको पहिलो प्राथमिकतामा अलपत्र परेका खानेपानी योजनाहरू रहेको पनि बताइन्। ती योजनाहरूको समस्या पहिचान गरी समाधानको प्रक्रिया अघि बढाइने उनको भनाइ छ।
प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार












प्रतिक्रिया