काठमाडौं। सभामुख डीपी अर्यालले चीनसँग सम्झौता भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयनमा सरकारले गति दिनुपर्ने बताएका छन्।
चिनियाँ राजदूत झाङ माओमिङसँग भएको शिष्टाचार भेटमा सभामुख अर्यालले यस्तो धारणा व्यक्त गरेका हुन्। उनले व्यापार, लगानी, पूर्वाधार विकास, सीमा नाका स्तरोन्नति तथा कनेक्टिभिटी सुदृढीकरणमा जोड दिएका छन्।
बीआरआई कार्यान्वयनलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो। साथै बहुपक्षीय मञ्चहरूमा सहकार्य, सांस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्ध विस्तारमा नेपाल प्रतिबद्ध रहेको पनि उनले बताएका छन्।
सभामुख अर्यालले नेपाल–चीन सम्बन्ध ऐतिहासिक, मैत्रीपूर्ण र पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।
एक चीन नीतिप्रति नेपालको पूर्ण प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने स्पष्ट पारेका छन्।
वर्तमान सरकार विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र नयाँ प्रविधि प्रवर्द्धनमा केन्द्रित रहेको उल्लेख गर्दै चीन सरकारको साथ र सहयोग अपेक्षित रहेको पनि उनले बताएका छन्।
भेटमा चिनियाँ राजदूत माओमिङले नेपाल–चीन सम्बन्ध असल छिमेकी, आपसी सम्मान र सहअस्तित्वमा आधारित रहेको उल्लेख गरेका छन्।
एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गर्दै ताइवान र तिब्बतसम्बन्धी नेपालको नीति निरन्तर रहने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया