काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आगामी महाधिवेशनमार्फत पार्टी नेतृत्वमा युवाको उल्लेख्य सहभागिता सुनिश्चित गरिने बताएका छन्। उनले नेतृत्व तहमा कम्तीमा ५० प्रतिशत युवालाई स्थापित गर्ने लक्ष्य पार्टीले लिएको स्पष्ट पारे।
मंगलबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै खनालले पार्टीलाई समयानुकूल रूपान्तरण गर्न युवा पुस्ताको सक्रिय भूमिका अपरिहार्य रहेको बताए। उनका अनुसार युवालाई केवल सदस्यका रूपमा सीमित नराखी नेतृत्वदायी जिम्मेवारीसहित अघि बढाउने तयारी भइरहेको छ।
‘युवालाई पार्टीमा ल्याउने मात्र होइन, उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउँदै नेतृत्वको भूमिकामा स्थापित गरिन्छ,’ उनले भने, ‘आगामी महाधिवेशनले यसलाई संस्थागत गर्नेछ।’
सुदूरपश्चिम प्रदेश इन्चार्जका रूपमा भीम रावलको नाम चर्चामा आएको विषयमा खनालले पार्टीभित्र थप छलफलपछि मात्र औपचारिक निर्णय हुने जानकारी दिए। साथै, आफू हाल कुनै विशेष विभागीय जिम्मेवारीमा नरहेको पनि उनले स्पष्ट पारे।
यसैबीच, पार्टीको बैठकले राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र समृद्धिमा आधारित समाजवादको लक्ष्यप्रति पुनः प्रतिबद्धता जनाएको छ। बैठकले सामन्तवादका अवशेष अन्त्य गर्दै दलाल नोकरशाही पुँजीवादविरुद्ध संघर्षलाई तीव्र बनाउने नीति लिएको जनाएको छ।
सुकुम्वासी तथा भूमिहीन नागरिकका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने उल्लेख गर्दै पार्टीले वास्तविक सुकुम्वासीको पहिचानबिना बसोबास हटाउनु अनुचित हुने बताएको छ। ‘पहिले यथार्थ पहिचान गरी उचित विकल्पसहित व्यवस्थापन गर्नुपर्छ, अन्यथा जबर्जस्ती उठिबास गरिए विरोधमा उत्रनुपर्ने बाध्यता आउनेछ,’ पार्टीले चेतावनी दिएको छ।
बैठकले आगामी महाधिवेशनको कार्यतालिका पारित गर्नुका साथै प्रदेशस्तरीय जिम्मेवारी बाँडफाँट र अन्य संगठनात्मक निर्णयहरू समेत गरेको छ। साथै, सरकारले गरेका सकारात्मक कामलाई समर्थन र जनविरोधी कदमको सशक्त विरोध गर्ने नीति पनि पार्टीले दोहोर्याएको छ।
प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार













प्रतिक्रिया