काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन्। आज भएको भेटमा द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको थियो।

भेटका क्रममा सभामुख अर्यालले नेपाल–चीन सम्बन्ध ऐतिहासिक, मैत्रीपूर्ण र पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै यसलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएको सभामुखको सचिवालयले जनाएको छ। उनले ‘एक चीन नीति’प्रति नेपालको पूर्ण प्रतिबद्धता दोहोर्‍याउँदै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विषयमा सरकार स्पष्ट रहेको बताए।

advertisement

सभामुख अर्यालले वर्तमान सरकार विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रविधि प्रवर्द्धनमा केन्द्रित रहेको उल्लेख गर्दै यसमा चीन सरकारको साथ र सहयोग अपेक्षित रहेको बताए।

सभामुख अर्यालले सङ्घीय संसद्का दुवै सदन, संसदीय समिति र मैत्री समूहमार्फत अन्तरसंसदीय सहकार्य विस्तार गरिने उल्लेख गर्दै आफ्नो कार्यकालमा प्रभावकारी र उत्कृष्ट संसदीय अभ्याय गरिने प्रतिबद्धता जनाए। साथै, सन् २०२२ डिसेम्बर १२ मा प्रतिनिधिसभा र चीनको राष्ट्रिय जनकंग्रेसबीच भएको समझदारीलाई कार्यान्वयन गर्दै विधायिकी निकायबीच सहकार्य अभिवृद्धि गरिने उनले बताए।

सभामुख अर्यालले व्यापार, लगानी, पूर्वाधार विकास, सीमा नाका स्तरोन्नति तथा ‘कनेक्टिभिटी’ सुदृढीकरणमा जोड दिँदै ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ कार्यान्वयनमा गति दिनुपर्ने धारणा राखे। साथै, बहुपक्षीय मञ्चहरूमा सहकार्य, साँस्कृतिक आदानप्रदान र जनस्तरको सम्बन्ध विस्तारमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गरे।

सभामुख अर्यालले विश्वमा बढ्दो द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै नेपाल शान्ति, संवाद र सहकार्यको पक्षमा रहेको बताए।

त्यस अवसरमा राजदूत माओमिङले सभामुखसँगको भेटलाई महत्त्वपूर्ण अवसरका रूपमा लिँदै राष्ट्रिय जनकंग्रेसका तर्फबाट शुभकामना सन्देश तथा बधाईपत्र हस्तान्तरण गरेका थिए। उनले नेपाल–चीन सम्बन्ध असल छिमेकी, आपसी सम्मान र सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै सन् २०१९ मा राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुगेको बताए।

राजदूत माओमिङले चीनले नेपाललाई महत्त्वपूर्ण छिमेकीका रूपमा लिँदै आएको उल्लेख गर्दै नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको सम्मानमा निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गरे। उनले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गरेको सभामुख अर्यालको सचिवालयले जनाएको छ।

राजदूत माओमिङले चीन–नेपाल सहकार्यअन्तर्गत पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन तथा विकास परियोजनाहरूमा सहकार्य बढाउन तयार रहेको उल्लेख गर्दै सङ्घीय संसद् सचिवालयलाई विद्युतीय सवारीसाधन सहयोग गरिएको जानकारी दिए। साथै, उनले सभामुख, सांसद तथा संसदीय पदाधिकारीहरूलाई चीन भ्रमणको निम्तासमेत दिए।

प्रकाशित मिति: १५ बैशाख २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com