काठमाडौं। पाकिस्तानको उत्तरी सिन्धस्थित शिकारपुर जिल्लामा विगत नौ वर्षदेखि ‘जुनेजो’ र ‘कल्होडा’ समुदायबीच चल्दै आएको रक्तपातपूर्ण जातीय द्वन्द्व अन्ततः स्थानीय ‘जिरगा’ (पञ्चायत) मार्फत टुंगिएको छ।

करिब एक दशकअघि बाख्रा चोरीको सामान्य घटनाबाट सुरु भएको विवाद पछि सशस्त्र संघर्षमा परिणत हुँदा दुवै पक्षका गरी ४८ जनाले ज्यान गुमाएको जनाइएको छ।

advertisement

यस द्वन्द्वका कारण स्थानीय गाउँहरू असुरक्षित क्षेत्रमा परिणत भएका थिए।

विद्यालयहरू बन्दजस्तै बनेका थिए भने बालबालिकाहरू वैकल्पिक स्थानमा अध्ययन गर्न बाध्य भएका थिए।

द्वन्द्वका समयमा दुवै समुदायका मानिसहरूले चौबीसै घण्टा पहरा दिने र सुरक्षा तथा हतियारमा ठूलो रकम खर्च गर्ने गरेका थिए।

लामो समयदेखिको यो संघर्ष अन्त्य गर्न हालै आयोजित जिरगाले दुवै पक्षलाई एकअर्काको ज्यान र सम्पत्तिको क्षतिपूर्ति स्वरूप कुल १४ करोड ९१ लाख पाकिस्तानी रुपैयाँ जरिवाना तोकेको छ।

साथै भविष्यमा पुनः आक्रमण गर्ने पक्षलाई अझ कडा जरिवाना लगाइने सर्त पनि राखिएको छ।

यद्यपि सिन्ध उच्च अदालतले १० वर्षअघि नै जिरगा प्रणालीलाई ‘निजी अदालत’ भन्दै प्रतिबन्ध लगाएको थियो।

त्यसका बाबजुद स्थानीय प्रशासन र प्रहरीको मौन समर्थनमा विवाद समाधान गरिएको बताइएको छ।

कानुनविद्हरूले हत्या जस्ता गम्भीर घटनाको फैसला अनौपचारिक माध्यमबाट गर्नु न्यायिक प्रणाली र संवैधानिक मूल्य मान्यताविरुद्ध भएको बताएका छन्।

तर वर्षौंदेखि हिंसा र त्रासमा बाँचिरहेका स्थानीय बासिन्दाहरू भने यो सम्झौतापछि गाउँमा शान्ति फर्किने, बालबालिकालाई सुरक्षित रूपमा विद्यालय पठाउन पाइने र दैनिक जीवन सामान्य बन्ने आशामा रहेका छन्।

प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com