चितवन। चालु आर्थिक वर्षको साउनदेखि जिल्लाका २२६ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा पाएका छन्।
भूमि समस्या समाधान आयोगले जिल्लाका चार हजार ७४३ कित्ताबाट ३४ हजार २९५ हेक्टर क्षेत्रफल नाप–नक्सा गरेको थियो।
राप्ती, खैरहनी, रत्ननगर नगरपालिका तथा भरतपुर महानगरपालिकामा ती भूमिहीनहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण थालिएको हो।
आयोगका अध्यक्ष इमानसिंह मुक्तानका अनुसार यही आर्थिक वर्षमा करिब २५० वटा पुर्जा निर्माण गरी वितरण गर्ने तयारी गरिएको छ।
यस वर्ष जग्गाधनी प्रमाण पुर्जा वितरणबाट १४ करोड ७२ लाख ७५ हजार ३५० रुपैयाँ राजस्व संकलन गरिएको उनले जानकारी दिएका छन्।
पुराना आयोगहरूबाट नापी–नक्सा भई अधुरा रहेका कामबाट उक्त राजस्व संकलन भएको जनाइएको छ।
नापी–नक्सा तथा फिल्डबुकमा नाम भएका व्यक्तिलाई आवासीय हकमा एक हजार वर्गमिटरसम्म मालपोत मूल्यांकनको १० प्रतिशत राजस्व बुझाउनुपर्ने व्यवस्था छ।
त्यस्तै कृषि क्षेत्रका लागि एक हजार ७०० वर्गमिटरसम्म पाँच प्रतिशत र त्यसभन्दा बढीमा १० प्रतिशत राजस्व बुझाउनुपर्ने जनाइएको छ।
अध्यक्ष मुक्तानले पुर्जा वितरणसँगै अन्य कानुनी बाधा हटाउन अन्तरक्रिया र बैठकहरू भइरहेको बताए। उनका अनुसार पुर्जा वितरण, नापजाँच र राजस्व संकलनको काम तीव्र बनाइएको छ।
गत आर्थिक वर्षको वैशाखमा आयोगले ३०५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गरेको थियो। जिल्लामा विभिन्न समयमा बनेका आयोगमा जग्गाधनी पुर्जाका लागि करिब ४० हजार निवेदन परेको बताइएको छ।
प्रकाशित मिति: १६ बैशाख २०८३, बुधबार













प्रतिक्रिया