काठमाडौं । राष्ट्रिय जेन्जी नागरिक अभियानले राष्ट्रिय मानवअधिकार आयोग लाई आफ्नो प्रतिवेदन तत्काल सार्वजनिक गर्न ७ दिने अल्टिमेटम दिएको छ।
अभियानले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मानवअधिकारजस्तो संवेदनशील विषयमा तयार पारिएको प्रतिवेदन लामो समयसम्म गोप्य राखिनु आयोगको पारदर्शिता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाउने कदम भएको जनाएको छ।
आयोगले २०८२ भदौ २३ र २४ गते विशेष रूपमा तयार पारेको भनिएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक नगर्नु चिन्ताजनक रहेको अभियानको ठहर छ। नागरिक स्वतन्त्रता र मानवअधिकारको अवस्थाबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक नगर्दा लोकतान्त्रिक प्रणालीमै नकारात्मक प्रभाव परेको भन्दै जेन्जी नागरिक अभियानले प्रतिवेदन तत्काल सार्वजनिक गर्न अनुरोध गरेको छ।
अभियानले प्रतिवेदनका निष्कर्ष र सिफारिसहरू कुनै तोडमोड नगरी पारदर्शिताका साथ सार्वजनिक गर्नुपर्ने माग गरेको छ। साथै, प्रतिवेदनलाई ढिलाइ नगरी सार्वजनिक नगरे आयोगको स्वतन्त्रता र जिम्मेवारीमाथि प्रश्न उठ्ने पनि उल्लेख गरिएको छ।
विज्ञप्तिमा तोकिएको ७ दिनभित्र प्रतिवेदन सार्वजनिक नगरिए देशव्यापी कडा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिइएको छ। अभियानले मानवअधिकारजस्तो महत्वपूर्ण विषयमा ढिलासुस्ती अस्वीकार्य भएको उल्लेख गर्दै आयोगलाई आफ्नो संवैधानिक दायित्व पूरा गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार













प्रतिक्रिया