काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफ्नो कार्यकालमा महानगरभित्र रहेका बौद्ध सम्प्रदायसँग सम्बन्धित मूर्त तथा अमूर्त सम्पदाको संरक्षण, पुनर्निर्माण र जगेर्नाको कार्य उल्लेखनीय रूपमा सम्पन्न भएको बताएका छन्।

२५७०औँ बुद्ध जयन्तीका अवसरमा संयुक्त राष्ट्रसंघीय कार्यालय परिसरमा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो पहिलो कार्यकालमा बिहार, बही, चैत्य तथा मन्दिरहरूको पुनर्निर्माण र जीर्णोद्वारमा कुनै कमी नराख्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै ती अधिकांश कार्य पूरा भइसकेको जानकारी दिए।

advertisement

महर्जनले मूर्त सम्पदासँगै अमूर्त सम्पदाको संरक्षणका लागि पनि महानगरले बुद्ध जयन्ती समारोह समिति तथा प्रत्येक चार वर्षमा आयोजना हुने ‘महासम्यक’ पर्व सञ्चालनका लागि अक्षय कोष स्थापना गरी आर्थिक स्थायित्व प्रदान गरेको बताए।

काठमाडौं उपत्यका मेयर्स फोरमका अध्यक्षसमेत रहेका उनले नदी किनारका सार्वजनिक जग्गा अतिक्रमणबाट जोगाउन नयाँ प्रस्तावसमेत अघि सारे। उनका अनुसार नदी किनारका खाली स्थानमा बुद्धका मूर्तिसहित आकर्षक पार्क निर्माण गर्न सके उचित व्यवस्थापन हुनुका साथै भविष्यमा हुने अतिक्रमण रोक्न सकिनेछ।

महर्जनले महानगरभित्रका अधिकांश बौद्ध सम्पदाको पुनरुत्थान भइसकेको दाबी गर्दै कतै कुनै काम बाँकी भए जानकारी गराउन आग्रह गरे। साथै, ललितपुरमा सुकुम्बासी समस्या नरहेको र नदी किनार क्षेत्र व्यवस्थित भइसकेको उल्लेख गर्दै छिमेकी महानगर तथा नगरपालिकाका लागि पार्क निर्माणको मोडेल उपयोगी हुन सक्ने बताए।

उनले उक्त प्रस्तावलाई छिट्टै उपत्यका मेयर्स फोरममा छलफलको विषय बनाउने प्रतिबद्धता जनाउँदै बुद्धिजीवी तथा बौद्ध विद्वान्हरूको रचनात्मक सहयोगको अपेक्षा व्यक्त गरे।

प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com