काठमाडौं। बालेन्द्र शाह ले साँचो क्रान्तिको सुरुवात अक्षरको पहिलो वर्ण ‘क’ बाट नभई ‘ज्ञ’ बाट हुने बताएका छन्।
२५७० औँ बुद्ध जयन्ती का अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले ‘ज्ञ’ को अर्थ ज्ञान भएको स्पष्ट पारेका हुन्।
प्रधानमन्त्री शाहले समाजमा सकारात्मक परिवर्तन र वास्तविक क्रान्तिका लागि केवल साक्षरता मात्र पर्याप्त नहुने, गहिरो ज्ञान, चेतना र विवेक आवश्यक पर्नेमा जोड दिएका छन्।
उनले गौतम बुद्ध को जन्मले नेपालभूमि गौरवान्वित भएको उल्लेख गर्दै नेपाल सदैव शान्ति, अहिंसा र सहअस्तित्वको पक्षमा रहेको बताएका छन्।
प्रधानमन्त्री शाहले बुद्धले देखाएको मार्ग आजको विश्वमा अझ बढी सान्दर्भिक बन्दै गएको उल्लेख गर्दै विश्वशान्तिको कामना गरेका छन्।
उनले बुद्धको शिक्षालाई आधुनिक समाज, मानव संघर्ष र समस्या समाधानसँग जोडेर व्याख्या गरेका छन्।
सन्देशमा उनले बुद्धका चार आर्य सत्य— दुःख, दुःखको कारण, दुःखको निवारण र निवारणको मार्ग—को स्मरण गर्दै जीवनका चुनौती समाधानका लागि ज्ञानको बाटो अपनाउनुपर्ने धारणा राखेका छन्।
अँध्यारोलाई उज्यालोको अभावको रूपमा व्याख्या गर्दै उनले ज्ञानको प्रकाश फैलिँदा अज्ञानता स्वतः हट्ने बताए। मानव सभ्यताको यात्रा सधैँ ज्ञान, चेतना र समाधानको खोजतर्फ केन्द्रित हुनुपर्ने उनको भनाइ छ।
प्रधानमन्त्री शाहको सन्देशले बुद्ध जयन्तीलाई केवल औपचारिक उत्सवका रूपमा होइन, आत्मचिन्तन, ज्ञान प्राप्ति र सामाजिक रूपान्तरणको अवसरका रूपमा लिन सबैलाई प्रेरित गरेको छ।
उनले बुद्धको दर्शन आत्मसात् गर्दै अघि बढेमा मात्र व्यक्तिगत तथा सामाजिक समस्याको स्थायी समाधान सम्भव हुने र समाजमा वास्तविक परिवर्तन आउने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार












प्रतिक्रिया