काठमाडौं। नेपाल भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया मामिलाका विशेष दूत सर्जियो गोरलाई प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भेट नगर्ने भएका छन्।
गोर बिहीबारदेखि तीन दिने नेपाल भ्रमणमा काठमाडौँ आएका हुन्।
भ्रमणका क्रममा उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शुक्रबार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
तर प्रधानमन्त्रीसँगको औपचारिक भेट भने तय नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बालेन आन्तरिक सुशासन र प्रशासनिक काममा व्यस्त भएकाले भेट सम्भव नभएको हो।
उनले भनिन्, “प्रधानमन्त्रीज्यू आन्तरिक सुशासनका काममा व्यस्त हुनुहुन्छ, त्यसैले गोरसँगको भेटघाट छैन।”
प्रधानमन्त्री बनेपछि बालेन शाहले हालसम्म कुनै पनि विदेशी कूटनीतिज्ञसँग व्यक्तिगत रूपमा छुट्टै भेट गरेका छैनन्।
उनले विदेशी प्रतिनिधिसँग सामूहिक भेटमार्फत मात्रै संवाद गर्दै आएका छन्।
चैत १३ गते प्रधानमन्त्री पद सम्हालेलगत्तै उनले सिंहदरबारमा नेपालस्थित विदेशी कूटनीतिज्ञहरूसँग सामूहिक भेट गरेका थिए।
त्यसयता व्यक्तिगत उच्चस्तरीय द्विपक्षीय भेटहरू भने नगरेको बताइएको छ।
यो घटनालाई कूटनीतिक अभ्यासमा नयाँ शैली र प्रधानमन्त्रीको प्राथमिकता केन्द्रीत शासन शैलीका रूपमा समेत हेरिएको छ।
प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया