काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) राजु अर्याल आजदेखि औपचारिक रूपमा अवकाशमा जाँदै छन्। चार वर्षे कार्यकाल पूरा गर्दै उनले सशस्त्र प्रहरीको नेतृत्वबाट बिदा लिन लागेका हुन्।
२०७९ वैशाख १९ गतेदेखि संगठनको कमाण्ड सम्हालेका अर्यालले निर्धारित कार्यकाल पूरा गरेका छन्। सशस्त्र प्रहरी बलमा आईजीको पदावधि चार वर्षको हुने कानुनी व्यवस्था छ। २०५४ चैत १८ मा इन्स्पेक्टर पदबाट नेपाल प्रहरी सेवामा प्रवेश गरेका उनी पछि सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए।
उनको बिदाइ कार्यक्रम आज (शुक्रबार) दिउँसो ३ बजे सशस्त्र प्रहरी मुख्यालय, हलचोकमा आयोजना गरिँदैछ।
अर्यालकै ब्याचका दानबहादुर कार्की यसअघि नेपाल प्रहरीका महानिरीक्षक नियुक्त भइसकेका छन्। प्रचलित कानुनमा परिवर्तन नभए कार्की २०८४ चैत १७ सम्म प्रहरी संगठनको नेतृत्वमा रहनेछन्। सामान्यतया प्रहरी र सशस्त्र दुवै सेवामा ३० वर्षे सेवा अवधि रहने भए पनि अर्याल भने २८ वर्ष सेवा पूरा गरेर अवकाशमा जान लागेका हुन्।
यसैबीच, मन्त्रिपरिषद्ले नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बलको नयाँ महानिरीक्षक नियुक्त गरिसकेको छ। उनलाई वैशाख २० गते गृह सचिव राजकुमार श्रेष्ठले दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम तय गरिएको छ।
अर्यालको कार्यकालमा २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तथा २०८२ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सशस्त्र प्रहरी बललाई दोस्रो सुरक्षा घेरामा खटाइएको थियो। साथै, दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन र जेनजी समूहको प्रदर्शनजस्ता चुनौतीपूर्ण परिस्थितिमा पनि उनले संगठनको नेतृत्व गरेका थिए।
उनले आफ्नो कार्यकालमा सरुवा र बढुवा प्रक्रियालाई बढी पारदर्शी र पूर्वानुमानयोग्य बनाउन पहल गरेका थिए। सरुवाको पूर्वसूची सार्वजनिक गर्ने अभ्यासले ‘भनसुन’ संस्कृतिमा कमी आएको मूल्याङ्कन गरिएको छ। तथापि, उच्च तहका बढुवामा हुने राजनीतिक प्रभाव भने पूर्ण रूपमा अन्त्य हुन सकेको छैन।
सशस्त्र प्रहरीका उच्च अधिकारीहरूका अनुसार अर्यालको कार्यकाल समग्रमा सन्तोषजनक रहेको मानिएको छ।
नवनियुक्त आईजी पौडेल पनि अर्यालकै ब्याचका अधिकृत हुन्।
प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार













प्रतिक्रिया