काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमबासीहरूलाई तत्कालका लागि पाँच वटा स्थानमा अस्थायी रूपमा राख्ने तयारी गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार हटाइएका परिवारहरूको विवरण सङ्कलनपछि उनीहरूलाई अस्थायी बसोबासका लागि विभिन्न सरकारी तथा तालिम केन्द्रहरूमा व्यवस्थापन गरिनेछ।

advertisement

उनका अनुसार पाँच वटा स्थान पहिचान गरिएको छ। ती स्थानहरूमा ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत् तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवन रहेका छन्।

सरकारले हाल काठमाडौं उपत्यकाका थापाथली, शंखमुल, मनोहरा, सिनामंगल, बल्खु, बालाजु र वंशीघाट लगायतका क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका अव्यवस्थित बस्ती हटाउँदै आएको छ।

हटाइएका परिवारहरूलाई तत्काल सडकमा नबस्ने गरी अस्थायी व्यवस्थापन गर्ने उद्देश्यले यो व्यवस्था गरिएको बताइएको छ।

यसका लागि सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।

दशरथ रंगशालामा समेत समन्वय र व्यवस्थापनसम्बन्धी तयारी भइरहेको जनाइएको छ।

सरकारले यसलाई तत्कालीन मानवीय व्यवस्थापन र दीर्घकालीन समाधानतर्फको संक्रमणकालीन कदमका रूपमा व्याख्या गरेको छ।

प्रकाशित मिति: १८ बैशाख २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com