काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मानिसको सम्पत्तिभन्दा आस्थामाथिको आक्रमण बढी खतरनाक हुने बताएका छन्।
सुकुमबासी बस्ती तथा अतिक्रमित घरटहरा हटाउने विषयमा प्रतिक्रिया दिँदै उनले सरकारको तयारी पर्याप्त नभएको उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘सार्वजनिक स्थल खाली गर्ने नाममा अत्यन्त हतारमा मन्दिर, विद्यालय र बुद्ध जयन्तीकै दिन बौद्ध गुम्बा भत्काइनु कतैबाट पनि उचित होइन। मन्दिर, विद्यालय, गुम्बा जस्ता सार्वजनिक संस्थाहरू सार्वजनिक स्थलमै हुने कुरा सबैलाई जानकारी भएकै विषय हो।’
उनले थप लेखेका छन्– ‘कसैले आफ्नो छानो गुमेको दृश्य हेर्न नसकेर ज्यान नै गुमायो। विकास जीवनका लागि हुनुपर्छ, जीवन विकासका लागि होइन। मानिसको सम्पत्तिभन्दा आस्थामाथिको आक्रमण बढी खतरनाक हुन्छ। इतिहास, धर्म र परम्पराको संरक्षण गर्दै गरिने निरन्तरता सहितको विकास नै दिगो र स्थिर हुन्छ। यसतर्फ सरकारको ध्यान जानुपर्छ। गृहकार्य पर्याप्त भएन।’
प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार












प्रतिक्रिया