काठमाडौं । काठमाडौं उपत्यकाका बागमती नदी तथा सहायक नदी किनारामा रहेका अतिक्रमित सुकुम्बासी बस्ती हटाउने कार्य शनिबार पनि जारी रहेको छ।
नदी छेउका अतिक्रमित वस्ती हटाउने सरकारको निर्णयअनुसार विगत केही दिनदेखि निरन्तर रूपमा खोला किनारका बस्तीमा डोजर प्रयोग गरिँदै आएको छ।
सङ्घीय सरकार र काठमाडौँ महानगरपालिका को संयोजनमा आज कामपा–१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला किनारमा रहेका घरटहरा हटाउने कार्य भइरहेको छ।
त्यस्तै कामपा–१५ स्वयम्भू क्षेत्रका अतिक्रमित संरचना हटाउने काम पनि जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल ले जानकारी दिए।
स्वयम्भू, बालाजु–गोङ्गबु बसपार्क, देवीनगरलगायत क्षेत्रमा अवैध संरचना हटाउने कार्य भइरहेको उनले बताए। यसअघि सरकारले शुक्रबार बल्खु र कालिमाटी क्षेत्रमा नदी किनारका बस्ती हटाएको थियो।
हालसम्म उपत्यकामा सरकारी, सार्वजनिक तथा निजी जग्गा अतिक्रमण गरी निर्माण गरिएका करिब दुई हजार घरटहरा हटाइसकिएको रिजालले जानकारी दिए।
वस्ती हटाउने क्रममा प्रभावित परिवारलाई ‘होल्डिङ सेन्टर’ मा स्थानान्तरण गरिएको छ। शहरी विकास मन्त्रालय का अधिकारीहरूले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मा भूमिहीन परिवारको लगत सङ्कलन गरिरहेका छन्।
लगत सङ्कलनपछि प्रभावितहरूको दीर्घकालीन व्यवस्थापन गरिने सरकारको भनाइ छ।
प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार













प्रतिक्रिया