काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्यसंयोजन समितिको पहिलो बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।
बैठकले पार्टी एकता सुदृढीकरणदेखि आगामी महाधिवेशनसम्मका महत्वपूर्ण योजना समेटेर सात बुँदे निष्कर्ष निकालेको हो ।
संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षता र सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा सम्पन्न बैठकले पार्टीलाई संगठनात्मक रूपमा मजबुत बनाउने तथा एकता प्रक्रियालाई अघि बढाउने मार्गचित्र तय गरेको छ ।
बैठकको निर्णयअनुसार पार्टीको एकता राष्ट्रिय महाधिवेशन आगामी २०८३ साल मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा आयोजना गरिनेछ ।
त्यसअघि संगठन विस्तार र समायोजनलाई तीव्र बनाइने योजना पनि तय गरिएको छ ।
निर्णयअनुसार सबै जनवर्गीय संगठन तथा स्थानीय तहका कमिटीहरूको समायोजन जेठ मसान्तभित्र पूरा गरिनेछ ।
त्यसपछि भदौदेखि कात्तिकसम्म वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशनहरू सम्पन्न गर्ने कार्यतालिका बनाइएको छ ।
पार्टीले संगठनात्मक संरचनामा युवा तथा नवयुवाको ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय पनि गरेको छ ।
यसलाई संगठनलाई नयाँ पुस्तामैत्री बनाउने कदमका रूपमा लिइएको छ ।
त्यस्तै, हालै सम्पन्न निर्वाचनको समीक्षा प्रतिवेदन पारित गर्दै संविधान संशोधनका विषयमा सुझाव दिन ११ सदस्यीय कार्यदल गठन गरिएको छ ।
उक्त कार्यदलमा देव गुरुङ, प्रकाश ज्वाला, रेखा शर्मा, खिमलाल देवकोटा लगायतका नेताहरू रहेका छन् ।
कार्यदलले संविधानका सबल र कमजोर पक्षहरूको अध्ययन गरी आवश्यक सुधारका सुझाव दिनेछ ।
बैठकले समसामयिक राजनीतिक विषयमा १९ बुँदे प्रस्ताव समेत पारित गर्दै कम्युनिस्ट आन्दोलनको पुनर्गठन र एकीकृत पार्टी निर्माणतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
बैठकका सातबुँदे निर्णयहरू:NCP Press Statement 1-19
प्रकाशित मिति: १९ बैशाख २०८३, शनिबार













प्रतिक्रिया