काठमाडौं। नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्ने भएका छन् ।
पित्तथैली र हर्नियाको शल्यक्रियापछि निवासमै स्वास्थ्य लाभ गरिरहेका ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।
तर चिकित्सकहरूको सल्लाहअनुसार संक्रमणको जोखिम घटाउन भेटघाटलाई अस्थायी रूपमा नियन्त्रण गरिएको छ ।
एमाले सचिवालयका अनुसार अपरेसन भएको ठाउँमा घाउ बढेर संक्रमणको आशंका भएपछि चिकित्सकहरूले केही दिन हिँडडुल र भेटघाट कम गर्न सुझाएका थिए ।
अहिले अति आवश्यक र औपचारिक भेटघाट मात्र भइरहेको छ ।
‘इन्फेक्सन नहोस् भनेर हाल केही दिन भेटघाटलाई रोकिएको छ ।
अबको केही दिनमा सुधार हुन्छ भनिएको छ ।
त्यसपछि राजनीतिक भेटघाट खुला गरिनेछ,’ सचिवालयका एक सदस्यले बताए ।
गत चैत ३० गते त्रिवि शिक्षण अस्पतालमा ओलीको शल्यक्रिया भएको थियो ।
त्यसअघि चैत १३ गते प्रहरीले उनलाई पक्राउ गरेर अस्पतालमै राखेको थियो ।
अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य सुधारोन्मुख रहेको र चिकित्सकहरूको नियमित निगरानीमा रहेको एमालेले जनाएको छ ।
यो अवधिमा पार्टीका दैनिक कामकारबाही केन्द्रीय नेताहरूले नै सञ्चालन गरिरहेका छन् ।
ओलीको स्वास्थ्य पूर्ण रूपमा सुधार भएपछि मात्र पूर्ण रूपमा सक्रिय राजनीतिमा फर्किने बताइएको छ ।
प्रकाशित मिति: २० बैशाख २०८३, आइतबार













प्रतिक्रिया