काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी नयाँ मापदण्ड र कार्यविधि तय गरेको छ। पार्टीले अन्य दलबाट प्रवेश गर्ने व्यक्तिका लागि निश्चित ‘कुलिङ पिरियड’ तोक्दै उम्मेदवार बन्न कडाइ गरेको छ।
आइतबार केन्द्रीय सचिवालयबाट पारित ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रुपरेखा’ अनुसार अन्य दल छोडेर आउने व्यक्तिले ९० दिन पूरा गरेपछि मात्रै उम्मेदवार क्लबमा दर्ता भई छनोट प्रक्रियामा सहभागी हुन पाउनेछन्। त्यस्तै, पहिलो पटक पार्टी सदस्यता लिने नयाँ सदस्यका लागि ४५ दिनको अवधि अनिवार्य गरिएको छ।
तर, समाजमा प्रतिष्ठित, विज्ञ वा विशेष क्षमता भएका व्यक्तिका लागि भने ‘ल्याटरल इन्ट्री’ को व्यवस्था गरिएको छ। यस्ता व्यक्तिले कुलिङ पिरियड पूरा नभए पनि उम्मेदवार क्लबमा आवेदन दिन सक्नेछन्। यद्यपि उनीहरूलाई पार्टीको नेतृत्व एकेडेमीको प्रशिक्षण र छनोट प्रक्रियामा अनिवार्य सहभागी हुनुपर्नेछ।
वडा तहका उम्मेदवारका लागि सम्बन्धित पालिका र जिल्ला समितिको लिखित सहमति अनिवार्य गरिएको छ भने नगर प्रमुख/उपप्रमुखका आकांक्षीले जिल्ला तथा प्रदेश समितिको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ। उपमहानगर र महानगरका प्रमुख/उपप्रमुखका लागि केन्द्रीय समितिको अनुमति आवश्यक हुनेछ।
पार्टीले उम्मेदवार छनोटका लागि तीन तहको प्रक्रिया लागू गरेको छ— उम्मेदवार क्लब, नेतृत्व एकेडेमी प्रशिक्षण र मूल्यांकन आधारित छनोट प्रणाली। यस अन्तर्गत पालिका र वडा स्तरमा छुट्टाछुट्टै उम्मेदवार क्लब सञ्चालन गरिनेछ।
उम्मेदवार छनोटका लागि चार मुख्य मापदण्ड निर्धारण गरिएको छ। ती हुन्— नेतृत्व क्षमता, राजनीतिक नजिकता (पोलिटिकल प्रोक्सिमिटी), समावेशिता र प्रारम्भिक मतदान। यीमध्ये नेतृत्व क्षमता र राजनीतिक मूल्यांकनलाई २५–२५ प्रतिशत भाराङ्क दिइएको छ।
समावेशिताका लागि १० प्रतिशत भाराङ्क राखिएको छ भने प्रारम्भिक मतदानलाई सबैभन्दा ठूलो ४० प्रतिशत भाराङ्क दिइएको छ। यस प्रक्रियामा सम्बन्धित पालिकाका पार्टी सदस्यहरूले मतदानमार्फत आकांक्षी उम्मेदवार छनोट गर्नेछन्।
पार्टीले उम्मेदवार छनोटलाई पारदर्शी, प्रतिस्पर्धी र योग्यता–आधारित बनाउन यो प्रणाली लागू गरिएको जनाएको छ।
प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार













प्रतिक्रिया