काठमाडौँ । ललितपुर महानगरपालिका–१२ स्थित कृष्ण मन्दिर परिसरमा दाजुभाइको हत्या भएको घटनाको अनुसन्धान प्रहरीले पूरा गरेको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटी का अनुसार चैत २५ गते भएको सुमित नेम्बाङ र सृजन नेम्बाङको हत्या प्रकरणको अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिएको छ।
कमल गाउँपालिका–६ घर भई इमाडोल बस्दै आएका ३३ वर्षीय सुमित र २५ वर्षीय सृजन सहोदर दाजुभाइ हुन्। उनीहरूको हत्या आरोपमा प्रहरीले सञ्जीव नेपालीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पाटन दरबार स्क्वायर क्षेत्रमा घुम्न गएका बेला यसअघि कहिल्यै नभेटेका सञ्जीव नेपालीले छुरा प्रहार गरेर उनीहरूको हत्या गरेका थिए। गलत नम्बरमा फोन जाँदा सुरु भएको विवाद चर्किएपछि घटना भएको अनुसन्धानबाट खुलेको छ।
घटनामा संलग्न रहेको आरोपमा नवलपरासीका २१ वर्षीय गगन सुनारलाई पनि पक्राउ गरिएको छ। उनी ललितपुर–८ सुबहाल बस्दै आएका छन्।
प्रहरीले मुख्य आरोपी सञ्जीव नेपालीविरुद्ध जन्मकैदको मागदावी लिनुपर्ने राय दिएको छ भने गगन सुनारलाई मतियारको भूमिकामा कैद सजायको माग गर्नुपर्ने निष्कर्षसहित प्रतिवेदन पेश गरिएको एसएसपी बोगटीले जानकारी दिए।
प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार












प्रतिक्रिया